जुम्लामा राष्ट्रिय परिचय वितरण सुरु

जुम्ला । जुम्लामा राष्ट्रिय परिचय पत्र वितरण कार्य सुरु भएको छ ।जिल्ला प्रशासन कार्यालय जुम्ला शुक्रवारदेखि जुम्लामा राष्ट्रिय परिचय पत्र वितरण सुरु गरेको हो ।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्की र चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालबाट औपचारिक रूपमा परिचय वितरण कार्य शुभारम्भ भएको छ ।
एक औपचारिक कार्यक्रमका बिच प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतले परिचयपत्र प्रदान गर्नुभएको हो ।
सांसद महतले समय बिस्तारै आधुनिकीकरण हुँदै गरेको बताउनुभयो । उहाँले भन्नुभयो, डाटा राख्न मेसिन रिडेबल नै चाहिन्छ तर, ‘प्रविधि पछ्याउँदै हरेक व्यक्तिको तथ्याङ्कलाई व्यवस्थापन गर्न राष्ट्रिय परिचयपत्र अति महत्त्वपूर्ण रहेको छ ।
हरेक मानिसको अभिलेखीकरणका लागि परिचयपत्र अति आवश्यक भएकाले सांसदमा पनि राष्ट्रिय परिचय पत्र र छपाई तथा वितरणलाई छिटो गर्न व्यापक छलफल गरी सफल भएको समेत उल्लेख गर्नुभयो ।
एउटै कार्डले धेरै काम गर्ने छ । हरेक कामकाज गर्न सहज हुनेछ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले भन्नुभयो, नागरिकको अभिलेखलाई सरकारले डिजिटल गर्ने अभिप्रायले राष्ट्रिय परिचय पत्रको अवधारणा ल्याएको हो ।
कागजपत्र हराउने र पानीमा भिज्ने डर हुन्छ तर कार्ड भने पानीमा समेत नभिज्ने हुँदा उपयोगी हुने छ । हराएको खण्डमा फेरी निकाल्न सकिने प्रजिअ थापाको भनाई छ ।
शुक्रवार जिसस प्रमुख र मेयरलाई प्रदान गरेर परिचयपत्र वितरण कार्य सुरु भएको आइतबारदेखि सर्वसाधारणलाई पनि वितरण गरिँदै छ ।
जुम्लामा एक हजार आठ सय जनाको विवरण सङ्कलन भएकोमा चार सय ५० जनाको परिचय पत्र आइसकेको छ । सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाका अनुसार केही दिनमा चार सय ५० जनालाई कार्यालयमै बोलाएर परिचय पत्र वितरण गरिने छ ।








प्रतिक्रिया राख्नुहोस्