टेलिकमको आगामी कार्य योजना ३० दिनभित्र पेस गर्न निर्देशन
काठमाडौं । सङ्घीय संसद्को विकास तथा प्रविधि समितिले नेपाल टेलिकमको आगामी कार्य योजना ३० दिन भित्र समितिमा पेस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।
नेपाल टेलिकमले प्रदान गर्ने सेवाको प्रभावकारिता सम्बन्धमा छलफल गर्न आज सिंहदरबारमा बसेको समितिको बैठकले कोभिड–१९ का कारण स्कुल कलेज, बैङ्क तथा वित्तीय संस्थाहरूले इन्टरनेटको माध्यमबाट सेवा प्रदान गरिरहेका बेला नेपाल टेलिकमको सेवा प्रभावकारी नभएको जन गुनासो आएको भन्दै टेलिकमको सेवालाई गुणस्तरीय र जनअपेक्षाकृत बनाउन कार्य योजना बनाई ३० दिनभित्र समितिमा पेस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।
समितिले नेपाल टेलिकमको फोरजी सेवा विस्तार निर्धारित समयमा हुन नसक्नुको कारण, गत आर्थिक वर्षमा सिम वितरण गरिएका संस्था र ग्राहक सङ्ख्या लगायतका विषयमा ७ दिन भित्र जानकारी दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूर सञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।
बैठकमा अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाले यसै आर्थिक वर्षमा मुलुकका दुर्गम क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क विस्तारका साथै फोरजी सेवा समेत उपलब्ध हुने गरी काम भइरहेको बताउनुभयो ।
बैठकमा सांसदहरुले अझै पनि मुलकका कतिपय स्थानीय तहमा फोन नलाग्ने अवस्था रहेको भन्दै नेपाल टेलिकमको सेवाको विस्तार र गुणस्तरीयता अभिबृिद्ध गर्नुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्