बाढी पहिरोको क्षति अनुगमन गर्न मुख्यमन्त्री शाही कालिकोटमा
कालिकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही बाढी र पहिरोको क्षति अनुगमन गर्न गृह जिल्ला कालिकोट पुग्नु भएको छ ।
केही दिनयताको अविरल वर्षाका कारण मुख्यमन्त्रीको गृह जिल्ला कालिकोटमा बाढी पहिरोमा परेर सात जना बेपत्ता भएका छन् भने १४ जनाको मृत्यु भएको छ ।
निरन्तर बाढी र पहिरोले क्षति हुने क्रम नरोकिएपछि सङ्घीय राजधानी काठमाडौंमा रहनु भएका मुख्यमन्त्री शाही हेलिकोप्टर मार्फत सिधै गृह जिल्ला पुग्नु भएको हो ।
पहिरोमा परि बेपत्ता र मृत्यु हुनेको सङ्ख्या कालिकोटमा २१ पुगेको छ भने, सयौँ नागरिक घरबार विहीन भएका छन् सयाँै पशु चौपाया मरेका छन् भने बाटोघाटो पुलपुलेसा भत्किएर आवतजावतमा कठिनाइ भएको छ ।
बाढी र पहिरोले विक्षिप्त बनेका नागरिकलाई भेटघाट गरी पीडितको अवस्था बुझ्न गृह जिल्ला पुगेका मुख्यमन्त्री शाहीले मौसमले साथ दिएसम्म ठुलो मानवीय क्षति भएको कालिकोटको रास्कोट नगरपालिका १ ,नरहरीनाथको वडा नं ७ दागा सान्नी त्रिवेणी ६ मा पर्ने पोरीबन आएको बाढीले घर भत्किदा शुक्रवार बिहान कालिकोटको सान्नीत्रिर्बेणी ६ मा दुई जनाको मृत्यु भएको घटनाका पीडित रास्कोटको शान्तिघाटलगायतका क्षेत्रको अवलोकन भ्रमण गर्नु हुने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
बाढीको अवस्था बुझेपछि मुख्यमन्त्री शाहीले जिल्लास्थित दैविक प्रकोप उद्धार समितिलाई आवश्यक निर्देशन गर्ने बुझिएको छ ।
बाढीले घर बगाउँदा सान्नित्रिर्बेणी ६ नं वडाकी वर्ष ३० की तारा संज्याल र ५५ वर्षका प्रशुराम संज्यालको मृत्यु भएको थियो भने । बिहीबार बेलुका महावै गाउँपालिका–७ मा पहिरोले घर भत्किदा दुई जनाको मृत्यु भएको थियो । चार जना बालक घाइते भएका थिए । महावै गाउँपालिका कोटवाडा गाउँमा बुधवार दिउँसो घर माथिबाट पहिरो आउँदा घर पुरिएर महावै गाउँपालिका–७ का सुर्ज महताराका छोरा १० वर्षिया गणेश महतारा र टेकराज भण्डारीका ५ वर्षिया छोरी भावना भण्डारीको मृत्यु भएको थियो ।
प्रहरीका अनुसार चार जना बालबालिका गम्भिर घाइते भएका छन् । घाइतेहरूको अवस्था गम्भीर रहेको छ । यसै गरी कालिकोटमा पहिरोले ठुलो मानवीय क्षति भएको छ ।
सोमबार नरहरीनाथ गाउँपालिका ७ र ४ मा पहिरोले घर पुरिदा नौ जनाको मृत्यु भएको थियो भने आइतबार नरहरीनाथ–८ का १६ वर्षिया पारस भण्डारा र रास्कोट नगरपालिका–१ का सात जना र खाडाचक्र–५ कि अविसरा शाही बेपत्ता भएका थिए ।
बाढी र पहिरोले ठाउँ ठाउँमा सडक , पुलपुलेसा बगाएकाले आवतजावत पनि कठिन भएको छ । वर्षाले पहिरो जाँदा सुर्खेत जुम्ला राजमार्ग र कर्णाली कोरिडोर पनि अवरुद्ध भएको छ ।
बाढीले पोदमारा साना जलविद्युत आयोजनाको क्यानेल बगाएपछि जिल्ला अन्धकार भएको छ । यी सबै अवस्थाका विषयमा मुख्यमन्त्रीले अनुगमन गर्ने बताइएको छ । भ्रमणपछि प्रदेश राजधानी पुगेर मुख्यमन्त्रीले आवश्यक निर्णय लिने बुझिएको छ ।








प्रतिक्रिया राख्नुहोस्