तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना त्रास : कर्णालीकै लामो तथा ऐतिहासिक जात्रा यस वर्ष नलाग्ने

जुम्ला । कर्णालीकै लामो तथा ऐतिहासिक जात्रा यस वर्ष जुम्लामा नलाग्ने भएको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै जात्रा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिनुभयो । पुस्ताँै पहिलेदेखि सञ्चालन हुँदै आएको जात्रा यस वर्ष कोरोना त्रासले स्थगित गर्नु परेको प्रजिअ थापाको भनाई छ ।

सरकारले लकडाउन अन्त्य गरे पश्चात कोरोना सङ्क्रमण बढेकाले आम नागरिकलाई बचाउनका लागि भए पनि जात्रा रोक्नु पर्ने देखिएको हो । करिब एक हप्ता जात्रामय हुने जुम्ला, करोडौँ आर्थिक कारोबार हुने बेला कोरोना महामारी गर्दा पुर्खादेखि मनाउँदै आएको जात्रा स्थगित गर्दा यहाँका स्थानीय भने निकै रुष्ट छन् । तर आम नागरिकको रक्षाका लागि प्रशासनले जात्रा नलाउने निर्णय गरेको हो ।

जनपूर्णिमाको भोलिपल्ट अर्थात् गाईजात्राको दिनदेखि सुरु हुने जात्रा श्रीकृष्ण जन्माष्टमीका दिन मात्रै सकिन्छ । यस वर्ष साउन २० गतेबाट सुरु हुने जात्रा कोरोना त्रासका कारण रोकिएको हो ।

पहिलो दिन गाईजात्रा, दोस्रो दिन रोपाइँ जात्रा, तेस्रो दिनमा सानो पल्टन, मिम बादशाह र रमाइला आइटम तथा चाँैथो दिन मिम बादशाह, ठुलो पल्टन तथा बाघ भालु जात्रा निकालिन्थ्यो । भने पाँचौँ दिन अर्थात् कृष्णजन्माअष्टमीका दिन लाखे नचाउने अन्त्यमा लाखे काटी जात्रा समाप्त हुन्थ्यो ।

दिवङ्गत भएका आफन्तहरूको सम्झनामा आत्मा शान्तिको कामना गर्दै गाईजात्रा पर्व मनाउने गरिन्छ । एक वर्षभित्र मृत्यु भएका आफ्ना परिवरका सदस्यहरूको सम्झनामा प्रतीकको रूपमा मानिसलाई गाईको रूपमा सृंगारेर वा गाईलाई नै नगर परिक्रमा गराउने चलन छ । नगर परिक्रमा गर्दा श्रद्धालुहरूले गाईको पुच्छर समाइ वैतरणी नदी पार गरिने धार्मिक विश्वासका साथ फलफूल दही, चिउरा दान गर्ने चलन समेत रहेको छ ।

जुम्ला जात्राको इतिहास
लिच्छवि कालमा मल्ल राजा प्रताप मल्लले पुत्र शोकले भाव विह्वल भएकी आफ्नी रानीलाई सान्त्वना दिन सबैले यस्तो शोक बेहोर्नुपर्छ भन्ने देखाउन मानिस मृत्यु भएको घरबाट गाईजात्रा निकाल्ने व्यवस्था मिलाई रानीलाई देखाएका थिए । पुत्र शोकमा डुबेकी उनलाई विभिन्न उपाय लगाउँदा पनि खुसी नभएको गाईजात्रा लगाएपछि खुसी भएको रानीको मन शान्त भएको किंवदन्ती छ । त्यसैलाई आधार मानेर गाईजात्रामा सामाजिक कुरीति, राजनीतिक विकृति र प्रशासनिक कमजोरीलाई लक्षित गरेर व्यङ्ग्यात्मक कार्यक्रमको आयोजना गर्ने गरिन्छ ।

हरेक वर्षको एक पटक आउने जुम्लाको जात्रा हेर्न छिमेकी जिल्ला अछाम जाजरकोट, कालिकोट मुगुलगायतका जिल्लाबाट गरी करिब २० हजार जात्राको सहभागिता हुने गर्दछ ।

जात्राले एकातर्फ संस्कृति बचाउँथ्यो भने, अर्को तर्फ बढेको चहलपहलले जुम्लाका होटेल व्यवसायीको आम्दानी बढ्थ्यो तर यस वर्ष कोरोनाले गर्दा सबै धरासयी भएको दौँतरी होटेलका मालिक पदम महतले बताउनुभयो । सदियौँदेखि चल्दै आएको जात्रा यस वर्ष कोरोनाका कारण जात्रा नलाग्ने भएपछि उक्त अवधिमा बजारमा भिडभाड नगर्न समेत प्रशासनले सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button