पहिरोले लमजुङ–मनाङ सडक अवरुद्ध हुँदा यात्रुहरूलाई सास्ती
लमजुङ । लमजुङ मनाङ सडकमा वर्षासँगै पहिरोले पटक–पटक सडक अवरुद्ध हुँदा यात्रुरुले सास्ती पाएका छन् । विगत दुई साता अघिदेखि ठाउँ ठाउँमा झरेको पहिरोले सडक अवरुद्ध बनाएको हो ।
पछिल्लो समय सडक खण्ड अन्तर्गत लमजुङको मर्स्याङ्दी–४, च्याम्चेमा पहिरोले सडक पुरेपछि केहिदिन यता पूर्ण रूपमा यातायात अवरुद्ध भएको हो ।
वर्षासँगै पहिरोले सडक अवरुद्ध भएको र यातायात सुचारु गराउनका लागि दैनिक एक्साभेटर प्रयोग गरे पनि सडक सुचारु गर्न नसकिएको प्रहरीले जनाएको छ ।
पहिरो पन्छाउनको निम्ति दैनिक एक्साभेटर राखिए पनि छिनछिनमै पहिरो खस्दा सडक सुचारु गराउन कठिन भएको लमजुङका प्रहरी नायव उपरीक्षक गङ्गाबहादुर थापाले बताउनुभयो ।
सडक खण्ड अन्तर्गत बेसीशहर–६, अन्तर्गत खरखरे पहिरो, मर्स्याङ्दी–३, अन्तर्गत अर्खले पहिरो, मर्स्याङ्दी–४, घोप्टे पहिरो, श्रीखर्क लगायतका ठाउँमा सामान्य वर्षाले पनि यातायात अवरोध हुँदै आएका छन् ।
सडक खण्ड अन्तर्गत मनाङ क्षेत्र अन्तर्गत म्यार्दी भिरमा पनि डुङ्गासहितको पहिरो झरेको मनाङ प्रशासनले जनाएको छ ।
लमजुङ खण्डको पहिरो पन्छाएपछि मात्रै मनाङ खण्डको सडक सुचारु गर्न सकिने मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताउनुभयो । मनाङको ताल क्षेत्र भन्दा माथि भने सडक अवरोध नभएको प्रजिअ पौडेलको भनाई छ ।
सडक खण्डमा सुचारु हुन नसक्दा यात्रुहरू समस्यामा पर्दै आएका छन् भने उत्तरी लमजुङ सहित मनाङमा ढुवानी सेवा पनि प्रभावित हुँदै आएको छ । उक्त सडक खण्ड अन्तर्गत मनाङ क्षेत्र अन्तर्गत म्यार्दी भिरे सडक नेपाली सेनाले १९ वर्ष लगाएर ट्रयाक सम्पन्न गरी सडक विभागलाई जिम्मा लगाएको थियो ।
सडक खण्डमा छिनछिनको पहिरो, बाढीले गर्दा उत्तरी लमजुङ हुँदै मनाङ यातायात जोखिमपूर्ण भएपछि पैदल आवतजावत गर्न समेत समस्या भएको यात्रुहरू बत्ताउँछन् ।








प्रतिक्रिया राख्नुहोस्