घुस लिएको आरोपमा नासु ठाकुर विरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर
राजविराज । घुस लिएको आरोपमा पक्राउ परेका भूमिसुधार तथा मालपोत कार्यालय, सप्तरीका नायव सुब्बा कृष्ण बल्लभ ठाकुर विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आरोप–पत्र दायर गरेको छ ।
ठाकुरले आफ्नो जिम्मेवारी र पदीय दायित्वसमेतको ख्याल नगरी बदनियत पूर्वक रकमको बार्गेनिङ गरी सेवाग्राहीसँग १३ हजार रुपैयाँ घुस लिएर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर र अपराध गरेको देखिँदा बिगो १३ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय गर्न अख्तियारले माग गरेको छ ।
ट्रायल चेक गरी बढी जग्गाको स्रेस्ता कायम गरी दिने भन्दै सेवाग्राहीसँग १३ हजार घुस लिएको आरोपमा असार ३० गते ठाकुर पक्राउ परेका थिए । सेवाग्राहीको सूचना र उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले उनलाई पक्राउ गरेको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्