लकडाउन खुल्यो सावधानी छैन
पाल्पा । तानसेन नगरपालिका वडा नं. ९ का भोज बहादुर रुचाल नगरपालिकाको सामान्य काम मिलाउन गाडी रिजर्भ गरेर गए । लकडाउन खुल्यो भन्ने थाहा पाएपनी गाडीमा चढ्न उनलाई अप्ठेरो लाग्यो । कोरोना संक्रमणको त्रासकै कारण गाडीको अवस्था सुरक्षित नदेखेपछी उनी गाडी रिजर्भ गरेरै तानसेन पुगे ।
‘धेरैजसो मान्छेहरुले मास्क लगाएका छैनन्’ उनले भने । ‘यस्तोमा जोखिम मोलेर कसरी जाने ? सुरक्षाका विधि पनि केही अपनाईएको छैन ।’
सरकारले कोरोना संक्रमणको जोखिम कम गर्ने गरि विभिन्न सुरक्षाविधि अपनाउन आग्रह गर्दै लकडाउन खुला गरेको हो । तर सर्वसाधारणले भने खासै सावधानी अपनाएको देखिदैन । जिल्लाभरीका विभिन्न सार्वजनिक संस्था, पसल, यातायात, बैंकलगाएतका स्थानमा जाँदा मास्क लगाउने, भौतिक दूरी कायम गर्ने जस्ता कोरोनाबाट बच्ने उपाय धेरैले पालना गरेको देखिदैन ।
प्रहरी–प्रशासनले देखेजतीलाई मास्क लगाउन आग्रह गरे पनी धेरैले नटेर्ने गरेका छन् । सर्वसाधारणले नै सावधानी अपनाएका छैनन् । बैंकहरुमा औपचारिकताको लागि सेनिटाइजर हातमा लगाउने बाहेक अरु सावधानी छैन । मान्छेहरु ठेलमठेल भएर उभिने गरेका छन् ।
तानसेन नगरपालिका वडा नं. ८ का सुधिर सोमैले लकडाउनमा कडाइ गरेका बेला एक–एक जना गरी अनिवार्य हात धोई सेनिटाइजर लगाएर प्रवेश गर्न दिने बैंकहरुमा पनि अहिले भिडभाड हुने गरेको बताए । ‘बैंकमा आफ्नो कारोबार गर्नैपर्छ,’ उनले भने, ‘बैंकमा कहाँ–कहाँबाट आएकाहरु सामान्य मास्क मात्रै लगाएर लाइनमा बसेका हुन्छन् ।’
लकडाउन भएपछि सुरुसुरुमा सबैले उच्च सतर्कता अपनाएका थिए । लकडाउनको अवधि लम्बिएपछि सजग हुनै छाडेका नागरिक अहिले सरकारले लकडाउन खुलेको घोषणा गरेसँगै निस्फिक्री बनेका छन् ।
प्रमुख जिल्ला अधिकारीेले यातायातका साथै बजारमा भइरहेको भीड कम गर्न अनुगमन भइरहेको बताए । ‘दैनिकजसो भीडभाड बढी हुने सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थामा दुरी कायम गरी सेवा प्रदान गर्न आग्रह गरिरहेका छौं,’ उनले भने, ‘सामूहिक रुपमा हुने भेटघाटमा पनि रोक लगाएका छौं ।’
पाल्पामा हालसम्म ३ हजार ३ सय ३८ जनाको पीसीआर परीक्षण गरिएको छ । तर समुदायस्तरमा भने परीक्षण हुन सकेको छैन । विस्तारै समुदायमा संक्रमण फैलिन सुरु गरेको अवस्थामा उच्च सावधानी नअपनाएमा जटिल समस्या उत्पन्न हुन सक्ने छ ।








प्रतिक्रिया राख्नुहोस्