बाजुराको कोल्टीमा हवाई सेवा पुनः सञ्चालनमा
बाजुरा – लकडाउनका कारण बन्द भएको बाजुराको काेल्टीमा हवाई सेवा पुनः सञ्चालनमा आएको छ ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गत चैत्र ११ गतेदेखि आन्तरिक उडान बन्द गरेका हवाई सेवा कम्पनीले जिल्लामा उडान पुनः सञ्चालन गरेका हुन्।
सरकारको मापदण्ड पूरा गरी केही दिनदेखि उडान सुरु भएको नागरिक उड्डयन कार्यालय कोल्टीले जनाएको छ।
कार्यालयका प्रमुख श्रीकृष्ण रिजालले आरडिटी अनिवार्य गरेर मास्क, पञ्जालगायत स्वास्थ्य सुरक्षाका सामग्री प्रयोग गरी उडान सुरु गरिएको बताउनुभयो।
आगामी दिनमा पनि सम्पूर्ण सुरक्षा प्रक्रिया पूरा गरेर बाजुराबाट यात्रुलाई नेपालगन्ज र सुर्खेत पठाइने बडिमालिका एयर कार्गो सेवा राजा एयरपोट प्रतिनिधि ज्ञानु बमले जानकारी दिनुभयो ।
बाढी पहिरोका कारण सडक मार्ग अवरुद्ध भइरहेका बेला हवाई सेवा पुनः सञ्चालन हुने देखिएपछि नागरिक खुसी भएका छन् ।
कोरोना सङ्क्रमणबाट बच्न आवश्यक सुरक्षाका उपाय अपनाएर हवाई सेवा पुनः सञ्चालन भएको हुँदा सुरक्षाका उपायमा हेलचेक्र्याइँ गर्न नहुने स्वास्थ्यकर्मीले बताउनु भएको छ।
हवाई सेवा सञ्चालनले विशेष गरेर प्रसूति र अन्य बिरामीलाई सहज हुने भएको छ।








प्रतिक्रिया राख्नुहोस्