तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा सुत्केरी महिला र थुनुवा सहित थप सात जनामा कोरोना पुष्टी


बैतडी । बैतडीमा सुत्केरी महिला र थुनुवा सहित थप सात जनामा कोरोना पुष्टी भएको छ । डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा पाटन नगरपालिकाका ६ जना र पुर्चौंडी नगरपालिकाका एक जनामा आज कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । पुर्चौंडी नगरपालिका १० का ३२ बर्षीय पुरुषमा कोरोना पुष्टी भएको हो । उनी अहिले बलात्कार आरोपमा इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा छन् ।

यस्तै पाटन नगरपालिकाका ६ जना मध्ये एक जना सुत्केरी महिला र अन्य ५ जना पुरुषमा कोरोना पुष्टी भएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताउनुभयो । सुत्केरी महिलाले हिजो मात्रै बच्चा पाउनु भएको थियो । पाटन नगरपालिका वडा नं १० का ३ जना र पाटन नगरपालिका वडा नं ६ का ३ जना गरी ६ जनामा कोरोना पुष्टी भएको हो ।

कोरोना पुष्टी भएका सबैको स्वास्थ्य अवस्था भने समान्य रहेको छ । पाटन नगरपालिकाका संक्रमित ६ जना सबै भारतबाट फर्केका र क्वारेन्टाइनमा बसिरहेका छन् । पुर्चौंडी नगरपालिकाका संक्रमित अहिले प्रहरीको हिरासतमा भएपनि उनी गएको मंसीरमा भारतबाट फर्केका बताइएको छ । कोरोना संक्रमित थुनुवा र सुत्केरी महिलाको कन्ट्रयाक्ट ट्रेसिङ गरिने स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिनुभयो ।

यो संगै बैतडीमा कोरोना संक्रमितको संख्या ३ सय ७ पुगेको छ । जिल्लाका सबै स्थानीय तहमा संक्रमित देखिदा सबैभन्दा बढी पञ्चेश्वर गाउँपालिकामा ६० जना संक्रमित रहेका छन् ।

यस्तै शिवनाथ गाउँपालिकाका ५०, दोगडाकेदार गाउँपालिकाका ४३, सिगास गाउँपालिकाका ४०, दशरथचन्द नगरपालिकाका ३४, मेलौली नगरपालिकाका २७, सुर्नया गाउँपालिकाका १६, पाटन नगरपालिकाका २१, पुर्चौंडी नगरपालिकाका ९ र डिलाशैनी गाउँपालिकाका ७ जनामा संक्रमण पुष्टी भएको छ । संक्रमित ३ सय ७ जना मध्ये २९७ जना घर फर्किसकेका छन् भने १० जना क्वारेन्टाइन तथा आइसोलेसनमा रहेका स्वास्थ्य कार्यालयका कोभीड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button