तपाईँ सुन्दै हुनुहुन्छः

गत आर्थिक वर्षमा सुदूरपश्चिममा ५६ हजार बढी सवारी साधन कारबाहीमा, तीन करोड ३१ लाख राजश्व सङ्कलन

टीकापुर कैलाली । गत आर्थिक वर्ष २०७६/०७७ मा सुदूरपश्चिम प्रदेशमा ५६ हजार बढी सवारी साधन कारबाहीमा परेका छन् ।

सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा ट्राफिक नियम उलङ्घन गर्ने ५६ हजार एक सय ५३ सवारी साधन कारबाहीमा परेका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।

ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्याङ्क अनुसार उक्त समयमा सबैभन्दा बढी १९ हजार, एक सय १४ मोटरसाइकल, १३ हजार, पाँच सय ५४ कार, जिप र भ्यान, १० हजार ९६ ट्रक र ट्याङ्कर, सात हजार, पाँच सय ८५ ट्र्याकटर, तीन हजार, पाँच सय ८९ बस, मिनिबस र दुई हजार दुई सय १५ ट्याम्पो कारबाहीमा परेका छन् ।

गत आर्थिक वर्षमा कारबाहीमा परेका सवारी साधनबाट तीन करोड, ३१ लाख, ९९ हजार, पाँच सय राजश्व सङ्कलन भएको छ ।

यो अघिल्लो आर्थिक वर्षको भन्दा ६९ लाख, ४० हजार कम हुन आउँछ । अघिल्लो आर्थिक वर्ष २०७५÷०७६ मा ६८ हजार, आठ सय ३७ सवारी साधन कारबाहीमा पर्दा चार करोड, एक लाख, ३९ हजार, पाँच सय राजश्व सङ्कलन भएको थियो ।

आर्थिक वर्ष २०७६/०७७ मा तीन सय ८४ सवारी साधन दुर्घटनामा परेका छन् । दुर्घटनामा परी एक सय ४३ जनाको ज्यान गएको छ भने दुई सय ५४ जना घाइते भएका छन् ।

आर्थिक वर्ष २०७५/०७६ मा तीन सय १६ सवारी साधन दुर्घटनामा पर्दा दुई सय २३ जनाको मृत्यु भएको थियो भने चार सय ३४ जना घाइते भएको थिए ।

ट्राफिक कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा भन्दा २०७६÷०७७ मा सवारी दुर्घटना बढी भए पनि मृतक र घाइतेको सङ्ख्या भने कम रहेको देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button