तपाईँ सुन्दै हुनुहुन्छः

धनुषाको एभरेष्ट मिल्सलाई क्षतिको बिमा रकम भुक्तानी गर्न सर्वोच्चको आदेश

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा सञ्चालित रहेको एभरेष्ट पेपर मिल्सले १३ वर्षपछि दाबी गरेको बिमा रकम पाउने भएको छ ।

लगातार ८ वर्षसम्म प्रिमियम तिरेको एभरेष्ट पेपर मिल्समा २०६० सालमा आगलागी भएको थियो । युनाइटेड इन्सुरेन्स कम्पनीले बिमा गरेकोमा क्षति भएको पाँच करोड बराबरको बिमा रकम भुक्तानी गर्न आनाकानी गरिरहेको थियो ।

सर्वोच्च अदालतका न्यायाधीश द्वय विश्वम्भरप्रसाद श्रेष्ठ र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले हिजो एभरेष्ट पेपर मिल्सको पक्षमा फैसला गर्दै बिमाबापतको रकम र त्यसको ब्याजसहित भुक्तानी गर्न कम्पनीको नाममा आदेश दिइएको छ ।

सर्वोच्चको उक्त फैसलासँगै एभरेष्ट पेपर मिल्सले न्याय माग्न सुरु गरेको १३ वर्षपछि न्याय पाएको छ । एभरेष्ट पेपर मिल्सका प्रबन्ध निर्देशक कौशल सर्राफले अदालतले १३ वर्षपछि न्याय दिएको भन्दै मिल्स सञ्चालन गर्न अब थोरै भए पनि सहजता पुग्ने बताउनुभयो ।

एभरेष्ट पेपर मिल्सले आफ्नो फ्याक्ट्री तथा उत्पादनको बिमा युनाइटेड इन्सुरेन्सबाट गराइएको थियो । तत्कालीन समयमा माओवादीले २०६० साल भदौ ७ गते एभरेष्ट पेपर मिल्सको धनुषास्थित फ्याक्ट्री, गोदामलगायत स्थानमा आगो लगाएको थियो ।

तत्कालीन समयमा कागजको स्टक पनि धेरै भएकाले माओवादीले फ्याक्ट्रीमा बम पड्काउँदै आगो लगाएपछि एभरेष्ट पेपर मिल्सको करिब ११ करोड रुपैयाँको एभरेष्ट पेपर मिल्सका महाप्रबन्धक सन्तोष दहालले जानकारी दिनुभयो ।

तर युनाइटेड इन्सुरेन्सले आफूले बिमा गरेको भवनको मात्रै भएको भन्दै ११ करोडको क्षति भए पनि जम्मा ४ करोड ५० लाख रुपैयाँ मात्रै भुक्तानी तत्कालीन समयमा गरेको थियो । २०६० सालमा भएको आगलागीपछि विभिन्न चरणमा छलफल भए पनि बिमा कम्पनीले बीमितलाई क्षति भएको रकमको भुक्तानी नगरेपछि एभरेष्ट इन्सुरेन्स कम्पनीको विरुद्धमा अदालतमा मुद्दा दायर गरेकोमा अदालतले न्याय दिएको प्रबन्ध सञ्चालक सर्राफले जानकारी दिनुभयो ।

तत्कालीन समयमा ११ करोडको क्षति भए पनि बिमा कम्पनीबाट ६ करोड ५० लाख मात्रै बिमा रकम प्राप्त गर्न सकिने गरी क्षतिको मूल्याङ्कन भएको थियो । उक्त रकम युनाइटेट इन्सुरेन्सले तिर्नुपर्ने भए पनि इन्सुरेन्स कम्पनीले भने जम्मा चार करोड ५० लाख मात्रै रकम दिई थप रकम दिन आनाकानी गरेपछि न्यायका लागि अदालत पुग्नु परेको पेपर मिल्सले जनाएको छ ।

त्यसपछि पुनरावेदन अदालत पाटनमा एभरेस्ट पेपर मिल्सले मुद्दा दायर गरेको थियो । मिल्सको मुद्दा पुनरावेदन अदालत पाटनका न्यायाधीश द्वय पुरुषोत्तम भण्डारी र प्रकाशकुमार ढुङ्गानाको इजलासले युनाइटेड इन्सुरेन्सले नै बिमाबापतको बाँकी दुई करोड रकम पनि भुक्तानी गर्नुपर्ने फैसला गरेको थियो ।

२०६७ साल वैशाख १३ गतेको उक्त फैसला चित्त नबुझेको भन्दै युनाइटेड इन्सुरेन्स सर्वोच्च अदालत पुगेको थियो । एभरेस्ट पेपर मिल्सलाई तिर्नुपर्ने बिमा वापतको रकम अब युनाइटेड इन्सुरेन्सले पुनर्बीमा कम्पनीबाट पाउने छैन । अव अदालतको फैसला कार्यान्वयन गर्नु पर्ने बाध्यता कम्पनीलाई भएको छ ।

१५ वर्ष अगाडीको घटना भएको र तत्कालीन समयमा उसले दिन इन्कार गरी नदिएको रकम भएकाले अब उसले पुनर्बीमा कम्पनीबाट बिमा दाबी गर्न नमिल्ने भएकाले इन्सुरेन्सले आफ्नै आम्दानीबाट उक्त रकम भराउनु अवस्था आएको छ ।

यसले लामो लकडाउनका कारणले थुल थुल बनेका उद्योगी व्यापारलाई प्रोत्साहन गर्नका लागि अदालतको फैसला सहयोगी भएको छ । यसले उद्योगीको मनोबल बढ्ने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button