लकडाउनपछि स्वास्थ्य सतर्कता

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको १ सय २० दिन लामो लडकाउन अन्त्य गरेको छ ।
सरकारले लकडाउन अन्त्य गरेपनि ठूलो संख्यामा हुने जमघट, भेला र अन्य गतिविधि सहित शैक्षिक संस्थाबाहेकका अन्य क्षेत्र साउन १५ र भदौं १ गतेपछि मात्र खुल्नेछन् ।
लकडाउन अन्त्य भएसँगै सेवा व्यवसाय खुले पनि कोरोना संक्रमणको जोखिम भने कायमै रहेकाले आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड कडाईका साथ पालना गर्दै आवश्यक सतर्कता अपनाउन आवश्यक देखिएको छ ।
सरकारले चैत ११ गतेदेखि सुरु गरेको लकडाउन अन्त्य गरेसँगै साउन १५ गतेपछि सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेलाबाहेकका होटल, रेष्टुरेन्ट र ट्रेकिङ, ट्राभल, पर्वतारोहण लगायत पर्यटन व्यबसाय खुला हुने छन् भने भदौ १ गतेदेखि मध्यम दूरीका निजी तथा सार्वजनिक यातायात, राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान, खेलकुद प्रशिक्षणलगायत विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा सञ्चालन गर्न खुला हुनेछन् ।
दैनिक जनजीवन केही सहज बनाउन सरकारले लकडाउन अन्त्य गरेपनि संक्रमणको जोखिम अहिले पनि कायमै छ । कोरोना संक्रमण जोखिमबारे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागर कुमार राजभण्डारीले काठमाडौंमा बढि जोखिम रहेको बताउनुहुन्छ ।
उहाँले हालसम्म टेकुमा दैनिक एक हजार जनाको परीक्षण भइरहेपनि काठमाडौंमा कोराना संक्रमण न्युन भेटिएको तर बाहिरबाट आउने व्यक्तिहरुका कारण संक्रमण बढ्नसक्ने बताउनुभयो ।
लडकाउनपछि होटल व्यवसाय, यातायात, हवाई उडान र शैक्षिक तथा अन्य परीक्षा सञ्चालनसमेत सञ्चालन हुने भएपछि स्वास्थ्य सुरक्षाका मापदण्ड कडाईका साथ पालना गर्नुपर्ने देखिन्छ ।
डा. राजभण्डारीले कोरोना संक्रमण तत्कालै पूर्ण रुपमा अन्त्य नहुने भएकाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै दैनिक जीवनलाई सहज बनाउनुको विकल्प नभएको बताउनुभयो ।
लकडाउनपछिको समयमा कोरोनाबाट बच्न सामाजिक दूरी कायम, माक्सको प्रयोग र सरसफाई (सानीटाइजर प्रयोग) अनिवार्य गर्दै यसलाई यातायात, होल व्यवसाय र अफिस लगायत हरेक कामकाज स्थलमा कडाइका साथ पालना गर्नुपर्ने डा. राजभण्डारीको सुझाब छ ।
लामो समयको लकडाउन अन्त्यको विकल्प नभएको अहिलेको अवस्थामा कोरोना संक्रमणको त्रास मात्र लिने नभई सुरक्षाका उपाय अपनाउनु नागरिकको पनि दायित्व हो । तसर्थ कोरोना संक्रमणबाट आफु पनि बचौं र अरुलाई पनि बचाऔं ।








प्रतिक्रिया राख्नुहोस्