तपाईँ सुन्दै हुनुहुन्छः

मौद्रिक नीतिले व्यवसायीहरु उत्साहित

वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघ सहित बारा, पर्साका उद्योग वाणिज्य संघहरुले आज एक संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै सरकारले जारी गरेको मौद्रिक नीतिले उद्योग व्यवसायमा नयाँ उत्साह थपेको जनाएका छन् ।

कोभिड १९ का कारण ३ महिनाभन्दा पनि बढी समयदेखि बन्द हुन पुगेका उद्योग, व्यपार लगायतका क्षेत्रहरुलाई राहत पुग्ने गरी सरकारले जारी गरेको आर्थिक वर्ष २०७७–०७८ को मौद्रिक नीतिले कोभिड १९ कोसंक्रमणको बढ्दो त्रास र लम्बिदो लकडाउनका बीच अर्थतन्त्रलाई गतिशील र जीवन्त तुल्याउन मौद्रिक नीति मार्फत् गरिएका सम्बोधनले आर्थिक जगत्को मनोबल उच्च पार्न सहयोगी सिद्ध हुने विश्वास निजी क्षेत्रले लिएको संयुक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, बारा उद्योग वाणिज्य संघका अध्यक्ष विनोद साह र सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जय साहद्वारा जारी विज्ञप्तीमा पुर्नकर्जा सम्बन्धी व्यवस्थाले उद्योगी व्यवसायीलाई मद्दत पुर्याउने विश्वास लिइएको छ ।

कर्जा स्रोत परिचालन अनुपात बृद्धिले तरलता बृद्धि गर्न मद्दत गर्ने विश्वास गरिएको छ । विज्ञप्तीमा चालु पुँजी कर्जाको सीमामा २० प्रतिशतसम्म अतिरिक्त कर्जा प्रवाह गर्न सक्ने व्यवस्थाले निजी क्षेत्रलाई सहयोग पुर्याउने विश्वास लिइएको छ । वाणिज्य बैंकले कृषि र ऊर्जाको क्षेत्रमा गर्नु पर्ने लगानी सम्बन्धी व्यवस्थाले कृषिको आधुनिकीकरण र ऊर्जा क्षेत्रको विकासमा मद्दत गर्ने विश्वास लिइएको छ ।

साथै, विज्ञप्तीमा वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूले निश्चित प्रतिशत रकम लघु, साना एवम् मझौला उद्यमका क्षेत्र र पर्यटन लगायतका क्षेत्रमा कर्जा लगानी गर्नु पर्ने व्यवस्थाले यी क्षेत्रहरूको विकासमा मद्दत गर्ने बताईएको छ ।

त्यसैगरी विज्ञप्तीमा सञ्चालनमा आउन नसक्ने कम्पनी तथा फर्म बन्द गर्न चाहेमा बक्यौता ब्याज मिनाहा गरी सहज बहिर्गमनको व्यवस्था र उधारो संकलन सम्बन्धी कानूनी व्यवस्था हुनुपर्ने तथा बैंकले उठाउने निक्षेप र लगानी गर्ने कर्जा बीचको भारित स्प्रेड दर ३ प्रतिशतभन्दा बढी नहुने गरी नियम लागु हुनपर्ने माग गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button