तपाईँ सुन्दै हुनुहुन्छः

ओगोको धुवाँ संगै रित्ता जर्किन बजाई सलह धपाउँदै किसानहरु


बैतडी । बैतडीका विभिन्न स्थानमा सलह किरा देखिएपछि किसानहरु चिन्तित बनेका छन् । जिल्लाका केही ठाउँमा हिजोदेखि सलह किरा देखिएपछि किसानहरु खेतखेतमा थाल, रित्ता जर्किन र टीन ठटाएर तथा आगोको धुवाँ निकालेर सलह भगाउन थालेका छन् ।

जिल्लाको सुर्नया गाउँपालिका वडा नं ८मा सलहको ठूलो झुण्ड देखिएको र किसानहरुले खेतखेतमा पहरा दिएको वडा अध्यक्ष आनन्दसिंह बोहराले जानकारी दिनुभयो । सलहको झुण्ड अहिले सम्म बारीमा बस्न नपाएको उहाँले बताउनुभयो ।

यस्तै पाटन नगरपालिका वडा नं ९ को किचारमा पनि सलहको झुण्ड देखिएको स्थानीय दानसिंह भण्डारीले जानकारी दिनुभयो । सलह किराको झुण्ड देखिएपछि किसानहरुले बारीमा पुगेरै सलह धपाउन थालेको उहाँले जानकारी दिनुभयो । यस्तै पाटन नगरपालिकाको डङसीलीमा सलह किराको झुण्ड देखिएको स्थानीयहरुले जानकारी दिएका छन् ।

जिल्लामा सलह किरा देखिएपछि भोकमरी हुने भन्दै किसानहरु चिन्तित बनेका छन् । कृषि क्षेत्रमा विभिन्न ठाउँबाट क्षति पुगेको भएपनि स्थानीय सरकारहरुसंग कुनै योजना नरहेको किसानहरुले गुनासो गरेका छन् । स्थानीय सरकारहरुले साविकका कार्यालयहरुको जति समेत सेवा नदिएको उनीहरुको गुनासो छ । स्थानीय तहमा नामका मात्रै कृषि शाखा रहेका किसानहरुको गुनासो छ ।

बैतडीमा १४ हजार ५ सय हेक्टर जमीनमा मकै खेती गरिदै आएको छ । यो बर्ष विभिन्न कारणले मकैबालीमा क्षति हुँदा उत्पादनमा कमी आउने संकेत देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button