तपाईँ सुन्दै हुनुहुन्छः

बाढीको कारण नागरिकहरुलाई सतर्कता अपनाउमा आग्रह

सुनसरी । चिनको ताल फुट्ने हल्लापछि सुनसरीको कोशी नदि सहित विभिन्न नदीमा बाढीको संकेत देखिएको छ । बाढीको कारणले जोखिम रहेको क्षेत्रका नागरिकहरुलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सुनसरीले आग्रह गरेको छ । मंगलबारसम्म सुनसरीको कुनै पनि क्षेत्रमा बस्तीलाई खतरा नभएपनि जोखिम रहेकाले सबैलाई बाढी विपतको सामना गर्न पूर्व तयारीमा रहन आग्रह गरिएको छ । उता जिल्लाको बराहक्षेत्र नगरपालिकाको प्रकाशपुर राजाबासमा सप्तकोशी नदिको १२ र २८ नम्बर स्परमा केही जोखिम रहेको बताइएको छ ।

सुनसरीको राजाबास क्षेत्रमा केही स्परमा पानीले धक्का दिएकाले जोखिम भएपनि कटान नभएको अवस्था रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माले बताउनुभयो । मंगलबार विहान कोशीमा ३ लाख ४२ हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेकोमा मध्यान ३ लाख २७ हजार क्युसेक पानीको बहाव रहेको छ । डिएसपी शर्माले कोशी क्षेत्रमा जोखिम हुन सक्ने भएकाले माईकिंग गरेर सतर्कता गराएको बताउनुभयो ।

कोशी गाउँपालिकामा एक दशक अघि आएको बाढीको कारण त्रासमा रहेकाहरुलाई कुनै चिन्ता नलिन आग्रह गरेको अध्यक्ष ऐयुव अंसारीले बताउनुभयो । वहाँले पूर्व तयारीका लागि प्रत्येक वडामा केही थान लाईफ ज्याकेट सहित डोरी, बाढीबाट बच्न सक्ने बन्दोबस्तीका सामग्री तयारी अवस्थामा राखेको बताउनुभयो । कोशी पश्चिम तर्फ बगेकाले आफ्नो गाउँपालिकामा खासै त्रास नरहेको तर पनि वडा विपत व्यवस्थापन समितिलाई उच्च सतर्कताका लागि आग्रह गरिएको अंसारीले बताउनुभयो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले देशको सबै भन्दा ठूलो नदी सप्तकोशी पानीको बहाव मंगलबार विहानको तुलनामा कम भएको बताउनुभएको छ । यो बहाव वर्षकै सबै भन्दा बढी भएपनि अहिलेसम्म खतरा भने नरहेको प्रतिकृया दिनुभयो । प्रजिअ पोखरेलले कोशी क्षेत्रमा केही जोखिम हुन सक्ने भएकाले प्रहरीले माईकिंग गरेर सतर्कता रहन आग्रह गरेको बताउनुभयो ।

उता बराहक्षेत्र नगरपालिका ८ प्रकाशपुरका स्थानीय बाबुराम कार्कीले समेत कोशी किनारमा जोखिम भएपनि खतरा त्यती नभएको बताउनुभएको छ ।

वर्षाको पानी पर्न रोकिएकाले खासै तनाव नभएपनि आपतकालिन वर्षाले बाढी आए त्यसको सबै खाले सामना गर्न तयारी रहनुपर्ने आवश्यक छ । त्यसैले कोशी क्षेत्रका पालिकाहरुले समेत पालिकास्तरीय बाढीको खोज तथा उद्धार क्षेत्रसंग मानविय स्रोत, क्षमता र आवश्यक पूर्व तयारी गरेकाले त्यसमा सकृयता देखाउन जरुरी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button