हेलम्बु गाउँपालिकाको विद्यालयहरुमा मनै लोभ्याउने किचेन गार्डेन

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाले पछिल्लो समय सामुदायिक विद्यालयहरुमा अनिवार्य किचेन गार्डेनको कार्यक्रम लागू गरेपछि विद्यार्थी, शिक्षक र अभिभावकहरुमा खुसी छाएको छ । गाउँपालिकाका सामुदायिक विद्यालयहरुमा किचन गार्डेनसहित दिवा खाजाको कार्यक्रम लागू भएपछि विद्यार्थीहरुले जंगफुड खानुपर्ने बाध्यता हट्दै गएको छ ।
हेलम्बु गाउँपालिका भित्रको ३४ वटा सामुदायिक विद्यालय र २ वटा निजि विद्यालयमा यो कार्यक्रम लागु भइरहेको छ । नर्सरी तथा तरकारी उत्पादन गर्न हेलम्बु गाउँपालिकाले शिक्षकहरुलाइ ३ दिने तालिम समेत दिएको थियो ।
विगतमा गर्दै गरेको खेति प्रणालीलाइ नयाँ पुस्तामा हस्तान्तरण गर्दै जाने र नयाँ पद्धति अनुसार खेति गर्ने तरिका सिकाउने उदेश्यले हेलम्बु गाउँपालिकाले विद्यालय किचेन कार्यक्रमको सुरुवात गरेको हेलम्बु गाउँपालिकाका कृषि शाखाका प्रमुख टोप बहादुर बरुवालले जानकारी दिनुभयो । अहिले हेलम्बु किचेन गार्डेनमा गोलभेडा फलिरहेको छ भने भण्टा, बन्दा, घ्यूसिमि लगाएतका तरकारीहरु उत्पादन भइरहेको छ । विद्यार्थीहरुकै सक्रियतामा तरकारी उत्पादन भइरहेको गाउँपालिकाले जनाएको छ । लकडाउनले गर्दा उत्पादन भएका तरकारीहरु बारीमै कुहिँन थालेको भन्दै विद्यालयका शिक्षकहरुले दुखेशो गरेका छन् ।

यसअघि दिवा खाजाका नाममा विद्यालयका स–साना विद्यार्थीलाई जगंफुड खुवाउने प्रचलन थियो । हेलम्बु गाउँपालिकाले गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरुमा जंगफुडलाई प्रतिवन्ध गर्दै सबै विद्यालयहरुमा किचेन गार्डेनको लागि २१ लाख बजेटसमेत विनियोजन गरेर किचेन गार्डेनको कार्यक्रम लागू गरिएको हो । गाउँपालिकाले बेला बेलामा गएर अनुगमन पनि गरिरहेको शाखा प्रमुख बरुवालले जानकारी दिनुभयो ।
विद्यालयको किचेन गार्डेनका लागि विद्यालय हाताभित्र स्थानिय, अभिभावक, विद्यार्थी र शिक्षकहरुकै श्रमदानमा विभिन्न किसिमका तरकारी उत्पादन हुन थालेको छ । तरकारी उत्पादनको लागि अभिभावहरुले प्राङंगारिक मल, विउ उमार्ने, टनेल हाल्ने, विउ रोप्नेजस्ता काममा सहयोग गर्नेछन् । नयाँ सन्देश विद्यार्थीहरु गाउँ गाउँमा पुगेको सरस्वति माध्यमिक विद्यालयका प्रधानाध्यापक सिताराम ढकालले बताउनुभयो । सो काममा विद्यार्थी र शिक्षकहरु समेत श्रमदानमा जुट्ने गरेका छन् ।
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जंगफुडको सट्टा विषादीरहित खानेकुरा खानका लागि प्रोत्सोहन गर्ने उदेश्यले सामुदायिक विद्यालयहरुमा किचेन गार्डेनको कार्यक्रम ल्याइएको जानकारी दिनुभयो । उक्त कार्यक्रमले विद्यार्थीहरुलाई उत्पादनशिल बनाउने मात्र नभई आफ्नै घरका अभिभावकका साथ कृषिमा लाग्ने प्रेरणासमेत मिल्ने उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्