तपाईँ सुन्दै हुनुहुन्छः

बाराको देवताल गाउँपालिकामा ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि

बीरगंज । बारा जिल्लाको देवताल गाउँपालिकामा ११ जना महिलासहित ४६ जनामा गए राति कोरोना सङ्क्रमण पुष्टि भएसँगै गाउँपालिकालाई आजबाट पूर्ण रूपमा सिल गरी अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराले स्थानीय प्रशासन ऐन–२०२८ को दफा ६ को ३ तथा सङ्क्रमण रोग नियन्त्रण ऐन २०२० को दफा २ बमोजिम देवताल गाउँपालिकाको एरिया भित्र निषेधाज्ञा जारी गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताउनुभयो ।

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि देवताल गाउँपालिकाको कार्यालय तथा वडा कार्यालयहरूबाट प्रदान गरिने सम्पूर्ण सेवा तथा हाटबजार पूर्ण रूपमा बन्द गरी स्थानीय बासिन्दालाई घरबाट बाहिर ननिस्कन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पण्डितले जानकारी दिनुभयो ।

यस अघि वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणको क्रममा गए राति बारा देवताल गाउँपालिकाका ४६ र पर्साका चार जना गरी ५० जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button