चारकिलोः पहिरो पन्छाउन दिनभर लाग्ने, हेर्नुहोस पहिरोले कहाँ–कहाँ राजमार्ग अवरुद्ध ?(विवरण सहित)

काठमाडौं । देशका अधिकांश स्थानमा अविरल वर्षाभएपछि देशका मुख्य राजमार्ग अवरुद्ध भएका छन्। राजमार्गमा पहिरोले समस्या पारेको छ भने तराईमा डुबानले सताएको छ। नारायणगढ–मुग्लिन सडकखण्ड,पहिराले भीमफेदी–कुलेखानी सडक, डुम्रे–बेसीँशहर सडकखण्ड अवरुद्ध लगायतका सडकमा बाढी र पहिरोले अवरोध पुर्याएको छ।
पहिरो खस्दा सडक अवरुद्ध
नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । बिहान ५ बजेतिर दुई वटा विद्युत्का पोलसहित ठूलो पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो खसिरहेको र ठूलो भएकाले पन्छाउन समय लाग्ने हुँदा एकतर्फी सवारी लामबद्ध गरिदिन अनुरोध गरेको छ । दुई दिनदेखि यस क्षेत्रमा लगातार वर्षा भइरहेको छ । इच्छाकामना–६ मा पर्ने चारकिलोमा त्यसअघि पनि पटकपटक पहिरो खस्दा समस्या हुँदै आएको छ ।

चारकिलोः पहिरो पन्छाउन दिनभर लाग्ने
नारायणगढ–मुग्लिन सडक खण्डको चारकिलोमा आज बिहान खसेको पहिरो थप समस्या नभएमा पन्छाउन दिनभर लाग्ने भएको छ । सो ठाउँमा माथिबाट बिजुलीका दुई खम्बासहित ठूलो पहिरो खसेको छ ।
इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो ठाउँ नारायणगढबाट ३१ दशमलव ५ किलोमिटर दूरीमा पर्छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख इञ्जिनीयर कृष्णराज अधिकारीका अनुसार पहिराले करिब ६० मिटर क्षेत्र ढाकेको छ । पहिरो पन्छाउनका लागि मुग्लिनतर्फबाट एउटा लोडर तथा नारायणगढ तर्फबाट एउटा लोडर र एउटा व्याकहु परिचालन गरिएको छ ।

भाडामा पाइएमा मुग्लिनतर्फबाट एउटा व्याकहु प्रयोग गर्नका लागि खोजी भइरहेको उहाँले जानकारी दिनुभयो । थप वर्षा नभएमा दिनभरमा पहिरो सफा गरिसकिने जनाइएको छ । पानी परिरहेको र पहिरो खसिरहेकाले काम गर्न कठिन भएको छ । सो सडकमा अन्य पहिरो खस्न सक्ने ठाउँमा नियन्त्रणको काम भइसके पनि त्यस स्थलमा काम गर्न शुरु गरेलगत्तै पहिरो खस्न थालेको हो ।

अधिकारीका अनुसार सो सडक र पृथ्वी राजमार्गका ठाउँठाउँमा साना पहिरो खसिरहेका छन् । डिभिजन सडक कार्यालयले नौबीसेमा एउटा लोडर तथा गजुरीमा एउटा लोडर र एउटा व्याकहु तयारी अवस्थामा राखेको छ । पहिरो खस्ने ठाउँमा तत्काल परिचालन गरेर सडक सफा गर्ने काम भइरहेको उहाँले बताउनुभयो । यस क्षेत्रमा दुई दिनयता निरन्तर वर्षा भइरहेको छ । सडक अवरुद्ध हुँदा अत्यावश्यक कामका लागि हिँडेका यात्रु, बिरामी र सामग्री बोकेका ट्रक बाटामा रोकिएका छन् ।
पहिराले भीमफेदी–कुलेखानी सडक अवरुद्ध
यही साउन ४ गतेदेखि परेको अविरल वर्षाका कारण काठमाडौँ–हेटौँडा जोड्ने छोटो दूरीको मदन भण्डारी राजमार्गअन्तर्गत भीमफेदी–कुलेखानी सडकखण्डमा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ ।

भीमफेदी गाउँपालिकाको गढी नजिकै गए राती पहिरो जाँदा सवारी आवागमन बन्द भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । अहिले ठूलो पानी परिरहेकाले तत्कालै पहिरो पन्छाउन पनि समस्या भएको उहाँले बताउनुभयो । काठमडौँ–कुलेखानी–भीमफेदी–हेटौँडा सडक पहिराका कारण अवरुद्ध भएपछि अहिले गाडीहरु त्रिभुवन राजपथ भएर सञ्चालन भइरहेका छन् ।
डुम्रे–बेसीँशहर सडकखण्ड अवरुद्ध
दमौली– पहिराले तनहुँको डुम्रे–बेसीँशहर सडकखण्ड अवरुद्ध भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण पहिरा झरेपछि डुम्रे–वेशीशहर सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको हो ।
भानु नगरपालिका–३ चाम्बासस्थित रिडिखोला नजिक खसेको पहिराले सडकखण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले जनाएको छ । निरन्तर वर्षा भएकाले पहिरा हटाउन केही समय लाग्ने जनाइएको छ ।
यस्तै वर्षाका कारण पहिरा गएपछि तनहुँको ऋषिङ गाउँपालिकास्थित श्रृङ्गपथ अवरुद्ध भएको छ । श्रृङ्गपथको घुम्तीभिरमुनि पहिरा खसेर सडक अवरुद्ध बनेको स्थानीयवासी निर्मल थापाले जानकारी दिनुभयो । ऋषिङ गाउँपालिकाकै ऐरीचौतारा हुँदै राम्जाकोट जाने बाटो समेत पहिराका कारण अवरुद्ध भएको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको मुग्लिङ–कोत्रे सडखण्डमा भने कुनै अवरोध नरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गए रातिदेखि परेको अविरल वर्षाका कारण जिल्लाका ग्रामीण सडक अवरुद्ध भएका छन् । ऋषिङ गाउँपालिकास्थित श्रृङ्गपथ अवरुद्ध भएको हो । श्रृङ्गपथको घुम्तीभिरमुनि पहिरा खसेर सडक अवरुद्ध बनेको स्थानीयवासी निर्मल थापाले जानकारी दिनुभयो । ऋषिङ गाउँपालिकाकै ऐरीचौतारा हुँदै राम्जाकोट जाने बाटो समेत पहिराका कारण अवरुद्ध भएको छ । निरन्तर वर्षा भइरहेकाले पहिरा हटाउन समय लाग्ने बताइएको छ । पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिङ–कोत्रे सडकखण्डमा भने कुनै अवरोध नरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पाल्पा बुटवल सडकमा दुईवटा पहिरो, सडक अबरुद्ध बाटो खुलाउने प्रयास जारी
पाल्पा- सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पा बुटवल सडक खण्ड पुनः अबरुद्ध भएको छ । पाल्पाको तानसेन ८ गौडेपुल र तिनाउँ गाउँपालिकाको दोभानमा पहिरो झरेकोकारण बाटो पुन अवरुद्ध भएको पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो ।

तानसेन नगरपालिका–८ गौडेपुल नजिकै शुक्रबार राती पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । आइतबार राती दुबै स्थानमा पुन पहिरो खस्दा सडक पूर्ण रूपमा अवरूद्द भएको छ । दुवै तर्फ अबरुद्ध सडकमा पाल्पा र बुटवलबाट डोजर लगाएर हटाउने र बाटो खुलाउने काम सुरु गरिएको गिरीले जानकारी दिनुभयो । पाल्पामा वर्षात सुरुभएसँगै सिद्दार्थ राजमार्गको विभिन्न ठाउँमा पहिरो जाने गर्दछ ।








प्रतिक्रिया राख्नुहोस्