भद्रपुर भन्सार कार्यालयले लकडाउनका कारण वार्षिक लक्ष्य भेट्टाउन सकेन

भद्रपुर, झापा । लगातार तीन महिनासम्मको लकडाउनका कारण झापाको भद्रपुर भन्सार कार्यालयले आर्थिक वर्ष ०७६/०७७ मा राजश्व सङ्कलनको लक्ष्य भेट्टाउन सकेन ।
आ.व. ०७६/७७ मा २० करोड ६९ लाख २२ हजार रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य लिए पनि तीन महिनासम्म राजश्वमा भारी गिरावट आएपछि भद्रपुर भन्सारले १४ करोड ४९ लाख ३५ हजार रुपैयाँ मात्र राजश्व सङ्कलन गरेको छ ।
चैत, वैशाख र जेठमा राजश्व सङ्कलन अत्यन्त न्यून भएका कारण समग्र राजश्व सङ्कलन प्रभावित बनेको कार्यालय प्रमुख फणिन्द्र खतिवडाले बताउनुभयो ।
चैतमा ४१ लाख ९५ हजार, वैशाखमा १४ हजार र जेठमा दुई लाख ८४ हजार रुपैयाँ मात्र राजश्व सङ्कलन भएको थियो । लकडाउन खुकुलो भएपछि असारमा भने एक करोड ४६ लाख ९० हजार सङ्कलन भएको छ ।
गत वर्ष १९ करोड १८ लाख ७९ हजार २१५ रुपैयाँ राजश्व सङ्कलन भएको थियो । भद्रपुर भन्सार जिल्लाकै दोस्रो ठुलो भन्सार हो ।








प्रतिक्रिया राख्नुहोस्