तपाईँ सुन्दै हुनुहुन्छः

मूलकको दोस्रो सरुवा रोग अस्पताल पोखरामा

पोखरा । प्रदेश सरकारले गण्डकी प्रदेश संक्रामक तथा सरुवा रोग नियन्त्रण अस्पताल सञ्चालनमा ल्याएको छ ।
गण्डकी प्रदेश सरकारले आफ्नो स्वामित्वमा रहने गरी पोखरा महानगरपालिका वडा नं ३० को मोहोरियामा संक्रामक तथा सरुवा रोग नियन्त्रण अस्पताल सञ्चालनमा ल्याएको हो ।

लेखनाथ सामुदायिक लायन्स अस्पतालको स्वामित्वमा रहेको उक्त अस्पताल गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएपछि गण्डकी प्रदेश सरकार मातहतको गण्डकी प्रदेश संक्रामक तथा सरुवा रोग नियन्त्रण अस्पताल नामकरण गरिएको हो ।

मुलुकमै एउटा मात्रै सरुवा रोग अस्पताल रहेकोमा काठमाडौँपछि दोस्रो अस्पताल पोखरामा स्थापना भएको हो । अस्पतालमा रहेका ४२ जना कर्मचारी यथावत राख्ने र अर्को व्यवस्था नहुँदासम्म लायन्स अस्पतालकै व्यवस्थापन समितिले काम गर्ने गरी अस्पताल सञ्चालनमा ल्याइएको हो ।
बिहीबार अस्पताललाई गण्डकी प्रदेश सरकारको स्वामित्वमा सञ्चालन गर्न मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र अस्पतालका अध्यक्ष रमानाथ पौडेलले सम्झौता पत्र साटासाट गर्नुभयो । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अस्पतालको भौतिक संरचना तयार भए पनि प्रभावकारी सेवाका लागि प्रदेश सरकारले जिम्मा लिने बताउनु भयो ।

प्रदेशका जनतालाई सर्वसुलभ तरिकाले स्वास्थ्य सेवा प्रदानगर्नका लागि प्रशासनिक सेवादेखि आधुनिक र व्यवस्थित सेवासम्मका लागि के गर्न सकिन्छ ? त्यसका बारेमा सामूहिक रूपमा अगाडी बढ्ने प्रतिबद्धता उहाँले जाहेर गर्नुभयो ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगत रहने गरी भएको सम्झौता पत्रमा अस्पतालको तर्फबाट अध्यक्ष रमानाथ पौडेल र सामाजिक विकास मन्त्रालयका निमित्त सचिव तेजप्रसाद काफले हस्ताक्षर गरेका छन् भने रोहोवरमा स्वास्थ्य निर्देशक डा. विनोद बिन्दु शर्मा रहनुभएको छ । कार्यक्रममा सामाजिक विकास मन्त्री नरदेवी पुन, कास्की क्षेत्र नं १(क)का सांसद दिपक कोइराला लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button