तपाईँ सुन्दै हुनुहुन्छः

२ अर्ब रुपैयाँ बराबरका सामान सुख्खा बन्दरगाह भन्सार नाकामा अलपत्र

काठमाडौं । तेस्रो मुलुकबाट आयात गरिएको २ अर्ब रुपैयाँ बराबरका ८ सय कन्टेनर मरीच, केराउ, छोकडा, सुपारी सुख्खा बन्दरगाह भन्सार नाका वीरगंजमा अलपत्र परेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आयात अनुमतिबिना ठूलो परिमाणमा भित्र्याईएको मरीच, केराउ, छोकडा, सुपारी दुई महिनाभन्दा बढी समयदेखि सुक्खा बन्दरगाहमा भन्सार वीरगंजमा जाँचपास नभई अलपत्र परेको हो ।

आयातकर्ताहरुले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई पटक पटक अनुमति माग गर्दै आएको भन्दै विभागले अनुमति नदिएपछि व्यवसायीले वस्तु निर्यातकर्तालाई नै फिर्ता गर्न पाऊँ भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा निवेदन दिएका छन् ।

गत चैत १६ मा सरकारले केराउ, छोकडा, मरीच, सुपारीलगायत वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो ।

सरकारले प्रतिबन्ध लगाउनुअघि नै सिपमेन्ट भएका वस्तु सुक्खा बन्दरगाह, कोलकत्ता र विशाखापट्टनम बन्दरगाहमा आई सकेको हुँदा व्यवसायीहरुले आयात गरेका थिए । सरकारले चैत १६ मा मरीच, सुपारी, छोकडा, मटरमा
आयात प्रतिबन्ध लगाएको कारण सामान भन्सारमै अलपत्र परेको व्यवसायीहरुले बताएका छन् ।

आयातित सामान भन्सारमा अलपत्र परेपछि वीरगन्ज उद्योग वाणिज्य संघले सरकारको प्रतिबन्ध अगावै सिपमेन्ट भइसकेका आयातित वस्तुको खाद्य अनुमति माग गर्दै वैशाख ११ मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा र जेठ १८ मा संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा अनुमतिको लागि निवेदन दिएको भए पनि सुनुवाई नभएको वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button