तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीयले नियन्त्रणमा लिएर छाडेका १५ जना भारतीय मजदुरमा कोरोना संक्रमण पुष्टि


ओखलढुंगा । ओखलढुंगामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पिसिआर परीक्षणमा ओखलढुंगाका १५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवत्ता जागेश्वर गौतमले ओखलढुंगामा १५ जना नयाँ संक्रमित भेटिएको जानकारी दिनुभयो ।

सोलु करिडोरमा काम गर्न जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकामा आईपुगेका भारतीय मजदुरहरुमा कोरोना पुष्टि भएको हो । केही दिन अघि जिल्लाबाट परीक्षणका लागि स्वाब पठाइएका ५५ मध्ये १५ जनाको कोरोना पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभयो । ‘भारतीय मजदूरहरुलाई मानेभञ्ज्याङ गाउँपालिकास्थित एउटा गोदामघरमा क्वारेन्टाइन बनाएर राखिएको थियो,’ प्रजिअ पौडेलले भन्नुभयो, ‘उनीहरुमा कोरोना पुष्टि भएको छ ।’ संक्रमित मजदूरहरु भातरबाट काम गर्नका लागि असार २६ गते मानेभञ्ज्याङ आइपुगेका थिए ।

भारतबाट मजदुर आएको जानकारी पाएपछि स्थानीयले उनीहरुलाई नियन्त्रणमा लिएका थिए । मानेभञ्ज्याङ गाउँपालिका र सोलु करिडोरको पहलमा मानेभञ्ज्याङमा रहँदा बालेथाम र रिचुवाको एक विद्यालयमा मजदूरहरुलाई राखिइको थियो । संक्रमण पुष्टि भए पनि अहिले उनीहरु ओखलढुंगामा छैनन् ।

स्थानीयले काम गर्न नदिएपछि विहिबार विहानै उनीहरुलाई आयोजनाले उदयपुर तर्फ पठाएको थियो । हाल उनीहरु जिल्लाभित्र नरहेकोले जोखिम कम रहेको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताउनुभयो । ओखलढुंगामा नरहेपनि संक्रमितहरु अर्को जिल्लामा गईसकेकाले आयोजना मार्फत त्यस ठाउँमा जानकारी गराउने काम भईरहेको तिवारीको भनाई छ ।

यो सँगै ओखलढुंगामा कोरोना संक्रमितको संख्या २१ पुगेको छ । उनीहरु मध्ये १ जना निको भईसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button