सल्यानमा बैंकको सटरमा राखिएको बम सेनाद्वारा निष्क्रिय
सल्यान । बागचौर नगरपालिका स्थित मुक्तिनाथ विकास बैंक शाखा कार्यालयको सटरमा बिहीबार बिहान भेटिएको बम सेनाको टोलीले निष्क्रिय पारेको छ । सिमखर्क स्थित सबुज गणबाट गएको टोलीले बम निष्क्रिय बनाएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
आसपासका क्षेत्र बिहानैदेखि सिल गरिएकोमा बम निष्क्रिय बनाएपछि स्थानीयलाई आउजाउ गर्न दिइएको इलाका प्रहरी कार्यालय थारमारेका प्रहरी निरीक्षक लीलाभक्त बाँदेले बताए । उनका अनुसार उक्त बाल्टिन बममा जनपरिषद् सल्यानको नाममा पर्चा टाँसिएको थियो । त्यसमा कोरोना महामारी तथा लकडाउनको समयमा बैंक तथा लघुवित्तले मनपरी ब्याज असुली गरेको उल्लेख गरिएको थियो ।
प्रहरीले घटनाबारे अनुसन्धान गरिने जनाएको छ । नेत्रविक्रम चन्द नेतृत्वको समूहले कोरोना महामारीमा पनि किसानलाई ऋण तिर्न बाध्य पारिएकाले बैंकमा बम राखिएको दाबी गरेको छ ।
यसैबिच बम राखेको जिम्मा विप्लव नेकपाले लिएको छ । महामारीका बेला बैंक तथा लघुवित्तले नागरिकहरुबाट ब्याजी किस्ता असुली गरेका कारण चेतावनी स्वरुप जनपरिषद् सल्यानका संयोजक बारुदको नेतृत्वमा पहिलो कारबाही स्वरुप यस्तो कार्य गरेको पार्र्टीका सल्यान जिल्ला सेक्रेटरी तुफानद्धारा जारी पर्चामा उल्लेख गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्