कर्तव्य ज्यान सम्बन्धी घटनामा संलग्न अभियुक्त पक्राउ

झापा । प्रहरीले १४ वर्ष पुरानो कर्तव्य ज्यान सम्बन्धी घटनामा संलग्न अभियुक्तलाई पक्राउ झापाबाट गरको छ । झापाको साबिक टागनडुब्बा गाविस–३ का ३५ वर्षीय नत्थु विश्वकर्माको हत्यामा संलग्न व्यक्ति पक्राउ परेका हुन् ।
झापाका एसपी कृष्ण कोइरालाका अनुसार पक्राउ पर्नेमा बौदल लामगाधे विक भनिने पुण्यप्रसाद विश्वकर्मा हुन् । उनी टागनडुब्बा–३ बस्थित ससुरालीमा गएका बेला घटना भएको थियो ।
एसपी कोइरालाका अनुसार कामाटोली बजारबाट नसोधिकन नत्थुको साइकल लामगाधेले चलाएका थिए । साइकल फिर्ता लिन जाँदा मादक पदार्थ सेवन गरेर बसेका लामगाधेले नत्थुमाथि कुटपिट गरेको कोइरालाको भनाइ छ ।
तत्कालै उपचारका लागि विराट नर्सिङ होम लगिए पनि उपचारका क्रममा मृत्यु भएको थियो । पछिल्लो समय पुराना घटनामाथि अनुसन्धान गर्ने क्रममा प्रहरीले उनी इटाभट्टामा रहेको पत्ता लगाएको थियो ।
प्रहरीका अनुसार नागरिकता र किटानी जाहेरीमा उल्लेखित नाम फरकफरक भएकाले उनी उम्किँदै आएका थिए । नाम फरक भएकै कारण उनी वैदेशिक रोजगारीका लागि पनि गएको पाइएको छ । एसपी कोइराला भन्छन्, ‘अभियुक्तले जतिसुकै चलाखी गरे पनि प्रहरीले निरन्तर निगरानी गरिरहेको हुन्छ, कसैले उन्मुक्ति पाउने कुरै हुँदैन ।’
घटनाको थप अनुसन्धानका लागि जिल्ला अदालत, झापाले लामगाधेलाई सात दिन हिरासमा राख्न अनुमति दिएको छ । यो अवधिमा उनको बयान, तथ्य विश्लेषण र प्रमाण संकलन लगायत हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्