तपाईँ सुन्दै हुनुहुन्छः

कालीगण्डकीमा अर्को पुल निर्माण

 

पर्वत । पर्वतको कुश्मा स्थित बडागाउँमा फेरि नयाँ झोलुङ्गेपुल बनेपछि थप आकर्षित क्षेत्र बनेको छ । कालीगण्डकी नदीमाथी मोदीबेनीलाई फेरो हालेर तीनवटा झोलुङ्गेपुल बनिसकेपछि यो ठाउँ घुम्नलायक क्षेत्र बनेको हो ।

तीन वर्ष अगाडी निर्मित बडागाउँ–सिर्सुवा झोलुङ्गेपुल र बडागाउँ–कैया झोलङ्गे पुल संगै सिर्सुवा–कैया झोलुङ्गे पुल हालै निर्माण सम्पन्न भएको छ । तीनवटा पुल एकै ठाउँमा बनेपछि कालीगण्डकीमा पुलैपुलमा फन्को मार्न सकिने स्थानीय केशवदास बैरागीले बताउनुभयो ।

कालीगण्डकी र मोदीखोलाको खोँचमा पहाडै पहाडका टुप्पामा झुण्डिएका पुलहरुको चक्रपथले पर्यटक आकर्षित गर्ने स्थानीयले विश्वास लिएका छन् । सिर्सुवा–कैया झोलुङ्गेपुल लकडाउनको अवधिमा निर्माण सम्पन्न भएको हो । एक करोड ३९ लाखको लागतमा निर्माण सम्पन्न भएको यो पुल २८० मिटर लम्बाई र कालीगण्डकी नदीको सतह देखि १७० मिटरको उचाईमा छ । कालिगण्डकी नदिको खोचमा बन्ने पुलहरुले कुश्मा, फलेवास र बाग्लुङ नगरपालिका लाई एकैसाथ जोडेको छ । तीनवटा पुल ५०/५० मिटरको फरकमा रहेका छन् ।

जिल्लालाई साहसिक र धार्मिक पर्यटन संग जोड्ने उद्देश्यका साथ पुलैपुलको चक्रपथ वनाउने योजना अघि सारिएको झोलुङ्गेपुलका परिकल्पनाकार रामबहादुर सुवेदीले बताउनुभयो । जिल्लामा एसियाकै नमूना बञ्जिजम्प समेत निर्माण सम्पन्न भई परिक्षण भैसकेको छ । यस जिल्लामा गुप्तेश्वर गुफा, अलपेश्वर गुफा, पञ्चासे लेक, शालिग्राम, महाशिला लगायतका पर्यटकिय क्षेत्र समेत छन् । प्राकृतिक संगै मानव निर्मित संरचनाले पनि पर्यटक आकर्षित भैरहेका छन् ।

कालीगण्डकी र मोदीखोलामाथी निर्मित अग्ला पुलले अहिलेपनि पर्यटक आकर्षित गरिरहेका छन् । ५६७ मिटर लामो कुश्मा १ पाङ र बाग्लुङ रामरेखा जोड्ने एसियाकै लामो झोलुङ्गे पुलको हालै निर्माण सम्पन्न भएको छ भने यो भन्दा अगाडि नै ५ वटा लामा र अग्ला झोलुङ्गे पुलहरुको निर्माण भइसकेको छ । कालीगण्डकी करिडोर समेत अहिले बनिरहेको पुल भन्दा तलतिर बाट बिस्तार भैरहेकाले पर्वत भविष्यमा चर्चित बन्ने सरोकारवालाहरुको विश्वास छ । बुद्धभूमी लुम्विनी, गुल्मीको रिडी हुँदै मुक्तिनाथ यात्रामा जाने तिर्थयात्री समेत यहि बाटो भएर जाने भएकाले पर्यटन मार्फत पर्वतले फाईदा लिने उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले बताउनुभयो ।

पुलले पर्यटक आकर्षित गर्नुका साथै दुर्गम भूगोललाई सुगम बनाईदिएको छ । पुल बनेपछि वारीपारीका बासिन्दाका बिचमा बस्तु आयात निर्यात बढेको छ । गाउँको कृषिजन्य उत्पादन सहजै बजार लैजान सकिएको छ । पर्वतका दूर्गम गाउँका बासिन्दालाई सदरमुकाममा आउँदा घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता पुलकै निमार्ण भएपछि हटेको छ । बागलुङका बासिन्दालाई पर्वतको कुश्मामा व्यापार गर्न पुलकै कारण सहज भएको अगुवा कृषक थानेश्वर भुसालले बताउन्ुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button