राहत र उद्धारका लागि कुनै कसर बाँकी राखिने छैनः सभामुख सापकोटा

चौतारा । सभामुख अग्निप्रसाद सापकोटाले बाह्रबीसे ५ जम्बुका बाढी पीडितहरुका उद्धार र राहतमा कुनै कसर बाँकी नराखिने बताउनु भएको छ ।
भोटेकोसी बाढीबाट क्षेतिग्रस्त क्षेत्रको अवलोकन गरेर चौतारामा आइपुग्नु भएको सभामूख सापकोटाले पत्रकारहरुसँगको भेटघाटमा जम्बु लगायतका बाढीग्रस्त क्षेत्रको स्थिति भयाभव भएको बताउनु हुँदै विस्थापित र पीडितहरुका लागि तत्काललाई राहतको प्रवन्ध मिलाइ सकेको जानकारी दिनुभयो । उहाँले बेपत्ता हुनेहरुको खोजी कार्य तीव्र पारिएको बताउनु हुँदै घाइतेलाई उपचारार्थ हेलिकप्टरमार्फत राजधानी लगिएको जानकारी दिनुभयो ।
बर्सेनी बाढी पहिरो जस्तो प्राकृतिक विपत्ति झेलिरहेको सिन्धुपाल्चोकलाई विपत्ति रोकथामका लागि आफूहरु दीर्घकालीनरुपमै योजना बनाएर अगाडि बढ्ने पनि उहाँले बताउँनुभयो ।
तिव्वतस्थित हिमताल फुट्न सक्ने सूचना आफूले पाएको बताउनु हुँदै सभामुख सापकोटाले तल्लो तटीय क्षेत्रका बासिन्दाहरुलाई पूर्ण सर्तकता अपनाउन आग्रह गर्नुभयो ।
गएराति जम्बुस्थित ठाडो खोलामा बाढी आउँदा दुईजनाको ज्यान जानका साथै १८ जना बेपत्ता भएका छन् । बेपत्ताहरुको खोजी कार्य र उद्धार जारी रहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनु भयो ।








प्रतिक्रिया राख्नुहोस्