तपाईँ सुन्दै हुनुहुन्छः

गुल्मीमा पहिरो : १८ महिने बालकको मृत्यु, २ जना बेपत्ता

गुल्मी । गुल्मीमा पहिरोका कारण एक जनाको मृत्यु भएको छ भने चार जना गम्भिर घाइते भएका छन् । पहिरोमा परी दुई जना बेपत्ता छन् । पहिरोका कारण इस्मा गाउँपालिकाको १ हस्तिचौरका बसन्त सारुका १८ महिनाका छोरा सिजन सारु मृत फेला परेका छन् ।

घर माथिबाट एक्कासी आएका पहिरोले बंगालो बगाएपछि बालक पहिरोमा परेको इस्मा गाउँपालिका वडा नं १ का वडा सदस्य जंग बहादुर खत्रीले जानकारी दिनुभयो ।

पहिरो खस्दा परिवारका अन्य सदस्य भने भाग्न सफल भएका थिए । त्यस्तै पहिरोले हस्तिचौर रिख बहादुर खत्रीको घर बगाएको छ ।  पहिरोमा पुरिएर खत्रीकी छोरी ७ बर्षकी अपेक्षा खत्री बेपत्ता भएकी छन् । पहिरोले पुरिएकी श्रीमती इश्वरा खत्रीको जिवितै उद्धार गरिएको छ । तर अवस्था गम्भिर भएको वडा सदस्य खत्रीले बताउनुभयो । पहिरोमा खत्रीको हजुर आमा पुतला खत्री, बुवा टीका खत्री र आमा घाइते छन् ।

त्यस्तै मुसिकोट नगरपालिका वडा नम्बर २ का भगिरथ घिमिरे पहिरोमा पुरिएर बेपत्ता भएका छन् । रातिबाट बेपत्ता घिमिरेको अवस्था अझै पत्ता नलागेको वडा आध्यक्ष लक्ष्मण खत्रीले  बताउनुभयो । पहिरोले गाउँ–गाउँबिचकै सम्पर्क बिच्छेद भएको र अन्य मुल सडक समेत अबरुद्ध भएका कारण उद्धारमा समस्या भएको छ ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटना स्थलतर्फ लागेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button