तपाईँ सुन्दै हुनुहुन्छः

मास्क नलगाई खुलेयाम हिडनेहरुको कारण कोरोना संक्रमणको जोखिम बढदै

बीरगंज । बीरगंज बजारमा केहि दिन यता मास्क नलगाई खुलेयाम हिडनेहरुको संख्या अधिक रहेको कारण कोरोना संक्रमणको जोखिम बढदै गएको छ ।

कोरोना संक्रमण अनियन्त्रित रुपमा बढी रहेको अवस्थामा आम सर्वसाधारणले भने अहिले कोरोनालाई सामान्य रुपमा लिन थालेका छन् । लकडाउन खुकुलो भएसँगै बजार खुलेको र हल्का सवारी साधन संचालनमा आएपछि मानिसहरुको चहलपहलमा बृद्धि हुनाको साथै बजारमा समेत भिडभाड बढेको छ ।

बीरगंज बजारमा विगत केहि दिन यता कोरोना नियन्त्रणका लागि मास्क लगाएर हिडनेहरुको संख्यामा समेत कमि हुदै गएको छ । ग्रामिण क्षेत्रमा झण्डै ९० प्रतिशत भन्दा बढीले सार्वजनिक स्थलमा निस्कदा मास्क लगाउन छाडेको र वीरगंज बजारमा समेत ५० प्रतिशतको हाराहारीमा मास्क नलगाउनेको संख्या पुगेको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणको अझै भयावह अवस्था आउने चेतावनी दिए पनि मास्क नलगाई खुलेयाम हिडने प्रवृति हावी भएको र वीरगंज बजारका पसलमा सर्वसाधारणको बढदो भिडभाडले कोरोना संक्रमणको उच्च जोखिम देखिएको छ । आज अपरान्ह रेडियो नेपाल सहितका सञ्चारमाध्यमहरुले मास्क नलगाएको सम्बन्धमा वीरगंजमा स्थलगत रिपोर्टिङ्ग गरेको छ ।

सो क्रममा डियुटीमा खटिएका सुरक्षाकर्मी, चिकित्सक, उद्योगी, व्यवसायि लगायत ठूलो संख्यामा मास्क नलगाईकन बजारमा निर्वाध रुपमा हिडेको भेटेपछि उनिहरुसँग प्रतिक्रिया लिदा केहि उत्तर दिन छाडेर भागेका थिए भने केहीले अनुहार रातो पिरो बनाउदै गल्ती भएको स्वीकार गरेका थिए ।

डियुटीमा खटिएका प्रहरीले नै मास्क नलगाउदा जनतामा गलत सन्देश प्रवाह भएको छ । त्यसैगरी चिकित्सक, स्वास्थ्यकर्मीहरु समेत विना मास्क बजारमा घुमफिर गर्नाले आम सर्वसाधारणले समेत मास्क लगाउन छाडेका छन् ।

यता जिल्ला प्रहरी कार्यालय पर्साले भोलीबाट वीरगंज बजारमा मास्क नलगाउनेहरु विरुद्ध विशेष कारवाही गर्ने प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button