तपाईँ सुन्दै हुनुहुन्छः

झापा महिला गोल्डकप : आर्मी क्लब फाइनलमा

भद्रपुर, झापा । चन्द्रा भण्डारीको निर्णायक गोलको मद्दतले त्रिभुवन आर्मी फुटबल क्लब झापाको दूधेमा जारी दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । उपाधिका लागि आर्मीले शनिबार एपीएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस फुटबल क्लब आर्मीसँगको पराजयसँगै सेमिफाइनलबाटै बाहिरिएको छ । उपाधिको दाबेदार मानिएको पुलिसले दूधे रङ्गशालामा अपेक्षित प्रदर्शन गर्न सकेन । 

खेलको ५१ औँ मिनेटमा चन्द्राले गरेको प्रहार नै खेलमा निर्णायक बन्यो । बिमला चौधरीको प्रहार पुलिसकी गोलकिपर उषा नाथबाट रिबाउन्स भएपछि चन्द्राले गोल गरेकी थिइन् ।

खेलको प्लेयर अफ द म्याच विजेता टिम आर्मीका बिमला विक घोषित भइन् । उनले नगद १५ हजार रुपैयाँ पुरस्कार पाइन् ।

प्रतियोगितामा नेपाल, भारत र भूटानका ८ टिमको सहभागिता थियो । भूटानको थिम्पु राभेन वुमन एफसी, भारतको गेसपुर फुटबल एकेडेमी, आरएस पोखरा फुटबल क्लब, बागमती युथ क्लब, झापा–११ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ फुटबल क्लब र नेपाल पुलिस फुटबल क्लबको सहभागिता रहेको थियो ।  

प्रतियोगिताको विजेताले नगद ११ लाख तथा उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट एकजना खेलाडीले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । 

त्यसैगरी, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button