पोखरा र चीनको इविनबीच खेलकुद, पर्यटन र संस्कृतिमा सहकार्य विस्तार गर्ने समझदारी
पोखरा । पोखरा महानगरपालिका र चीनको इविन नगरबिच खेलकुद, पर्यटन, संस्कृति तथा आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । भगिनी सम्बन्ध कायम रहेका दुई नगरबिचको सम्बन्धलाई थप सुदृढ र उपलब्धिमूलक बनाउने उद्देश्यसहित इविन नगरबाट आएको प्रतिनिधिमण्डल र पोखरा महानगरपालिकाका जनप्रतिनिधिबिच भेटघाट तथा अन्तरक्रिया भएको हो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ लगायत जनप्रतिनिधि तथा महानगरपालिकाका अधिकारीहरूसँग भएको छलफलमा दुई नगरबिचको भगिनी सम्बन्धलाई थप प्रभावकारी बनाउँदै विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको थियो । छलफलमा विशेष गरी खेलकुद क्षेत्रको विकास, अनुभव आदानप्रदान तथा दुवै नगरका खेलाडी र खेलकुदसम्बन्धी संस्थाबीच आपसी सहकार्य प्रवद्र्धन गर्ने विषयलाई प्राथमिकता दिइएको थियो । यसका साथै पर्यटन, सांस्कृतिक आदानप्रदान र आर्थिक सहकार्यका सम्भावनाबारे समेत छलफल भएको थियो ।
सो अवसरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा र इविनबीच स्थापित भगिनी सम्बन्धलाई व्यवहारमा रूपान्तरण गर्दै परिणाममुखी सहकार्यमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले पोखरा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा अघि बढिरहेको उल्लेख गर्दै चिनियाँ पर्यटकको आगमन वृद्धि, पर्यटन व्यवसायमा साझेदारी तथा खेलकुद पर्यटनको विकासका लागि दुई नगरबिच सहकार्यका प्रशस्त सम्भावना रहेको धारणा राख्नुभयो ।
महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले भगिनी सम्बन्धले दुई नगरका नागरिकबीच मित्रता, आपसी सद्भाव र सांस्कृतिक सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले महिला तथा युवाको सक्रिय सहभागिता सुनिश्चित गर्दै खेलकुद र सामाजिक विकासका क्षेत्रमा सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
इविन नगरबाट आएको प्रतिनिधिमण्डलमा लिउ नाइगुई, चेन लङ, चेन झेङ, ये पिङ र झेङ चेङबिन सहभागी हुनुहुन्थ्यो । प्रतिनिधि मण्डलमा लिउ नाइगुई इविन हाइ–टेक जोन प्रशासनिक समितिका प्रतिनिधि तथा चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी समितिका सदस्य, चेन लङ इविन खेलकुद विकास केन्द्रका निर्देशक, चेन झेङ इविन नगरको आर्थिक सहकार्य तथा उदीयमान उद्योगसम्बन्धी ब्युरोका पार्टी नेतृत्व समूहका सदस्य तथा सचिव, ये पिङ तथ्याङ्क ब्युरोका उपनिर्देशक र झेङ चेङबिन इविन हाइ–टेक जोन विकास प्रवद्र्धन केन्द्रका उपनिर्देशक हुनुहुन्छ । पोखरा र इविनबीचको भगिनी सम्बन्धलाई केवल औपचारिकतामा सीमित नराखी आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन तथा खेलकुदका क्षेत्रमा व्यावहारिक सहकार्यमा रूपान्तरण गर्न सके दुवै नगर लाभान्वित हुने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्