झापा महिला गोल्डकप सुरु
झापा । रेखा पौडेलको जादु चल्दा डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस फुटबल क्लब झापाको दुधेमा जारी दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बागमती युथ क्लबलाई ६–० गोल अन्तरले हराउँदै पुलिसले सेमिफाइनलमा त्रिभुवन आर्मी एफसीसँगको भेट पक्का गरेको हो ।
खेलको १५ औँ मिनेटमा कप्तान अमृता जैसीको गोलमार्फत पुलिसले अग्रता लियो । १७ औँ मिनेटमा निर्मला विकमाथि बागमतीका खेलाडीले डिएरियामा फल गरेपछि पुलिसले पेनाल्टी पायो । नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर रेखा पौडेलले गरेको प्रहार गोल भएको थियो ।
४२ औँ मिनेटमा पुलिसले अर्को पेनाल्टी पायो । त्यसलाई रेखाले नै गोलमा परिणत गरिन् । पहिलो हाफको अतिरिक्त समयमा सम्झना लावतीले गोल गर्दै पुलिसलाई ४–० को बलियो स्थितिमा पुर्याइन् ।
खेलको ८३ औँ मिनेटमा डि एरियानजिकै पाएको फ्रि-किकलाई सदुपयोग गर्दै रेखा पौडेलले ह्याट्रिक पूरा गरिन् । ८५ औँ मिनेटमा मैदानको मध्यभागबाट लगेको बललाई रेखाले विपक्षी पोस्टको सेकेन्ड बार च्यापेर गरेको प्रहार गोल भएको थियो ।
खेलको प्लेयर अफ द म्याच विजेता टिम पुलिसकी रेखा पौडेल घोषित भइन् । उनले नगद १५ हजार रुपैयाँ पुरस्कार पाइन् ।
भोलि (बुधबार) हुने पहिलो सेमिफाइनल खेल झापा–११ फुटबल क्लब र एपीएफ फुटबल क्लबबिच हुने आयोजक महिला झापा गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्