उपराष्ट्रपति यादवसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट
काठमाडौँ । सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का महामहिम राजदूत अब्दुल्ला अल शम्सीले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा सोमबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
भेटका अवसरमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपतकालीन राहत सहयोग, श्रम तथा नेपाली कामदारको अवस्था, आर्थिक सम्बन्ध, लगानी, हवाई सम्पर्क तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्य लगायतका विषयमा विचारविमर्श भएको थियो ।

उक्त अवसरमा उपराष्ट्रपति यादवले सन् १९७७ जनवरीमा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र युएईबिच मित्रता, सहकार्य र आपसी विश्वासमा आधारित सुमधुर सम्बन्ध कायम रहँदै आएको उल्लेख गर्दै सन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले सन् २०२७ मा मनाइने कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण जयन्तीलाई दुवै देशले अर्थपूर्ण र स्मरणीय ढङ्गले मनाउने विश्वास व्यक्त गर्नुभयो ।
उपराष्ट्रपति यादवले नेपाल र युएईबिच उच्चस्तरीय भ्रमणको आदानप्रदान हुँदै आएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि त्यस्ता भ्रमणहरूको निरन्तरता कायम रहने अपेक्षा व्यक्त गर्नुभयो । भेटमा उहाँले रसुवा–भोटेकोशी क्षेत्रमा गएको विनाशकारी बाढीपछिको कठिन परिस्थितिमा यूएई सरकार तथा जनताबाट प्राप्त आपतकालीन राहत तथा उद्धार सामग्री सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । सो सहयोगले प्रभावित समुदायको राहत तथा उद्धार कार्यमा महत्वपूर्ण योगदान पुगेको उल्लेख गर्दै यसले दुई मित्र राष्ट्रबिचको साँचो मित्रताको भावना झल्काएको बताउनुभयो ।
उपराष्ट्रपति यादवले करिब सात लाख नेपाली नागरिकलाई रोजगारीको अवसर उपलब्ध गराएकोमा यूएई सरकारप्रति धन्यवाद व्यक्त गर्दै नेपाली नागरिकका लागि उच्च आय र सीपयुक्त रोजगारीका थप अवसर सिर्जना गर्न अनुरोध गर्नुभयो। उहाँले युएईको विकासमा नेपाली कामदारहरूको महत्वपूर्ण योगदान रहेको विश्वास व्यक्त गर्नुभयो ।
आर्थिक सम्बन्धका सन्दर्भमा उपराष्ट्रपति यादवले कानूनको शासन, सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक रूपान्तरण वर्तमान सरकारका प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै नेपाल लगानीमैत्री वातावरण निर्माण तथा प्रवर्धन गर्न प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले पूर्वाधार, कृषि, स्वास्थ्य, स्वच्छ ऊर्जा, पर्यटन, सूचना प्रविधि तथा कृत्रिम बौद्धिकता लगायतका क्षेत्रमा युएईको लगानी र साझेदारीलाई नेपालले स्वागत गर्ने बताउनुभयो ।
उहाँले दुई देशबीच लगानी तथा आर्थिक साझेदारी प्रवर्धन गर्न आवश्यक सम्झौता तथा समझदारीहरूमा काम भइरहेकोमा खुसी व्यक्त गर्दै यस्ता व्यवस्थाले आर्थिक सहकार्यलाई थप पारदर्शी, व्यवस्थित र पूर्वानुमानयोग्य बनाउने विश्वास व्यक्त गर्नुभयो ।
उपराष्ट्रपति यादवले पोखरा–दुबई–पोखरा सिधा उडान सञ्चालनका लागि फ्लाई दुबईलाई धन्यवाद दिँदै त्यसका लागि राजदूत शम्सीको पहल र योगदानको प्रशंसा गर्नुभयो । साथै उहाँले दुबई–भैरहवा–दुबई उडान पुनः सञ्चालनका लागि आवश्यक पहल गरिदिन आग्रह गर्नुभयो ।
भेटवार्तामा संयुक्त राष्ट्रसङ्घ लगायत बहुपक्षीय मञ्चहरूमा नेपाल र युएईबिच पारस्परिक हितका आधारमा सहकार्य भविष्यमा पनि निरन्तर रहने विश्वास व्यक्त गरिएको थियो ।
यसै अवसरमा उपराष्ट्रपति यादवले संयुक्त अरब इमिरेट्सको ५५औँ राष्ट्रिय दिवसको शुभकामना व्यक्त गर्दै काठमाडौँमा आयोजना हुने राष्ट्रिय दिवस समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन गरिएको निमन्त्रणा सहर्ष स्वीकार गर्नुभएको थियो ।
युएईका महामहिम राजदूत शम्सीले नेपाल र युएईबिचको सम्बन्ध अत्यन्त घनिष्ठ रहेको उल्लेख गर्दै यसलाई आगामी दिनमा अझ उचाइमा पुर्याउन यूएई इच्छुक रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्