थामी सङ्घको राष्ट्रिय अधिवेशन चरिकोटमा हुने
दोलखा । नेपाल लोकतान्त्रिक थामी सङ्घको प्रथम राष्ट्रिय अधिवेशन दोलखा सदरमुकाम चरिकोटमा हुने भएको छ । दोलखा थामी समुदायको उद्गम थलो समेत हो ।

मंसिर १९ गतेबाट सुरु हुने सङ्घको प्रथम राष्ट्रिय अधिवेशनको उद्घाटन नेकपा एमालेका केन्द्रीय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको सङ्घले जनाएको छ । नेपाल लोकतान्त्रिक थामी संघ नेपाल आदिवासी जनजाति महासङ्घको सक्रिय घटक सङ्गठनको रुपमा रहेको छ ।
पार्टीको केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने राष्ट्रिय अधिवेशनको तयारीको लागि एमाले दोलखाका इन्चार्ज पार्वत गुरुङको अगुवाइ तथा एमाले दोलखा जिल्ला कमिटी र दोलखा– काठमाडौँ सम्पर्क कमिटीको संयोजनमा केन्द्रीय कार्यालय च्यासलमा अगुवा नेता– कार्यकर्ता भेला सम्पन्न भएको छ ।
भेलामा एमाले केन्द्रीय सदस्य एवम् दोलखा इन्चार्ज पार्वत गुरुङले अल्पसङ्ख्यक थामी समुदायलाई मूल प्रवाहीकरण गर्ने लगायतका कामको अगुवाइ एमालेले नै गर्दै आएको बताए । उनले अध्यक्ष ओलीले उद्घाटन गर्ने थामी सङ्घको प्रथम राष्ट्रिय अधिवेशनले पार्टीलाई पूर्नजागृत गर्दै निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे ।
तयारी भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य आनन्द प्रसाद पोखरेल, रचना खड्का, विनोद पाण्डे, श्याम बस्नेत, डबल पाण्डे, उर्मिला सुनुवार, बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री भरत केसी, नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय अध्यक्ष पासाङ शेर्पा, पूर्व प्रदेश मन्त्री सरस्वती बस्नेत, नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य शान्ती पाख्रिन, डिल्ली बराइली, बागमती प्रदेश सम्पर्क कमिटीका अध्यक्ष सरोज मोहन लामा, एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धर, दोलखा– काठमाडौँ सम्पर्क कमिटीका अध्यक्ष उमेश खड्का लगायतको सहभागिता रहेको थियो ।
भेलाले स्थानीय तह र जनप्रतिनिधिहरूको संयोजकको लागि बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री भरत केसी, झाँकी प्रदर्शनको तयारीका लागि एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धर, थामी समुदायको सांस्कृतिक झाँकी प्रदर्शनको लागि बागमती प्रदेशका सांसद ठूलो थामी र विगु गाउँपालिकाका उपाध्यक्ष देविका थामी, काठमाडौँको तयारीको लागि बागमती प्रदेश सम्पर्क कमिटीका अध्यक्ष सरोज मोहन लामा र दोलखा– काठमाडौँ सम्पर्क कमिटीका अध्यक्ष उमेश खड्का, जनजाति समुदायको समग्र परिचालनको लागि जंग गुरुङ र थिर बहादुर मोक्तान, सुरक्षा व्यवस्था र जनवर्गीय सङ्गठन संयोजनको लागि नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनका अध्यक्ष विनोद पाण्डे र साङ्गीतिक कार्यक्रमको संयोजनको लागि अमृत खातीलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
थामी जातीको जनसङ्ख्या देशभर ३२ हजार ७ सय ४३ रहेकोमा दोलखा जिल्लामा मात्र १८ हजार १ सय ४१ रहेको थामी सङ्घले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्