बैतडीमा बसबाट झर्ने क्रममा लडेर एक वृद्धको मृत्यु
बैतडी । बैतडीमा बसबाट झर्ने क्रममा लडेर एक जना वृद्धको मृत्यु भएको छ ।
जिल्लाको पाटन नगरपालिका–६ मेलतडाका ७० वर्षीय नारायण चन्दको बसबाट झर्ने क्रममा लडेर मृत्यु भएको हो ।
मेलौलीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको म १ ख ९१९ नम्बरको बसबाट आज बिहान करिब साढे १० बजे मेलतडामा झर्ने क्रममा चन्द ढोकाबाट लडेर गम्भीर घाइते भएका थिए । गम्भीर घाइते चन्दको उपचारका लागि जिल्ला अस्पताल बैतडी लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नवराज भट्टले जानकारी दिनुभयो ।
गम्भीर घाइते भएका चन्दको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको र जिल्ला अस्पताल पुगेपछि चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक भट्टले बताउनुभयो ।
घटनापछि प्रहरीले बस र चालक मेलौली नगरपालिका९ घर भएका ४८ वर्षीय अशोक चन्दलाई नियन्त्रणमा लिएको छ।








प्रतिक्रिया राख्नुहोस्