झापा महिला गोल्डकप : आर्मी सेमिफाइनलमा

भद्रपुर, झापा । चन्द्रा भण्डारी र हेमा चौधरीको ह्याट्रिक मद्दतमा त्रिभुवन आर्मी फुटबल क्लब भारतीय टोली गयेसपुर वुमन फुटबल एकेडेमीविरुद्ध गोल वर्षा गर्दै दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
गयेसपुरलाई १०–० गोल अन्तरले पराजित गर्दै आर्मीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
खेलमा भण्डारी र चौधरीको ह्याट्रिकसँगै सुक्रिया मियाले २ तथा जेनिफर राना मगर र दिपा शाहीले १–१ गोल गरे । खेलको पाँचौँ मिनेटमा आर्मीले अग्रता लियो । चन्द्रा भण्डारीले गोल गरिन् । १६औँ मिनेटमा चन्द्राले नै अग्रता दोब्बर बनाइन् । १८औँ मिनेटमा दिपा शाहीको क्रस पासमा हेमा चौधरीले गोल गरिन् भने ३३औँ मिनेटमा सुक्रिया मियाले अर्को गोल थपिन् । ४३औँ मिनेटमा चन्द्रा भण्डारीले गोल गर्दै ह्याट्रिक पूरा गरिन् । ४४ औँ मिनेटमा बिमला चौधरीको क्रस पासमा हेमा चौधरीले हेडमार्फत गोल गरिन् । पहिलो हाफको अतिरिक्त समयमा सुक्रिया मियाले व्यक्तिगत दोस्रो तथा टिमको लागि सातौँ गोल गरिन् ।
४६औँ मिनेटमा हेमा चौधरीले ह्याट्रिक पूरा गरिन् । ७९औँ मिनेटमा जेनिफर राना मगरले गोल गरिन् । ८९औँ मिनेटमा दिपा शाहीले आर्मीका लागि गोल गरिन् ।
खेलको प्लेयर अफ द म्याच विजेता त्रिभुवन आर्मी फुटबल क्लबकी चन्द्रा भण्डारी घोषित भइन् । उनले नगद १५ हजार रुपैयाँ पुरस्कार पाइन् । भोलि (सोमबार) तेस्रो क्वार्टर फाइनल खेल सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब र भुटानको थिम्पु राभेन वुमन एफसीबीच हुने आयोजकले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्