तेस्रो राप्तीसोनारी नेचर रनको उपाधि स्वस्तिका र टेकेन्द्रलाई
नेपालगञ्ज । तेस्रो राप्तीसोनारी नेचर रनको उपाधि स्वस्तिका शाही र टेकेन्द्र डाँगीले जितेका छन् । बाँकेको राप्तीसोनारीस्थित मदुवामा भएको दौडमा १० किलोमिटर खुला महिलातर्फ स्वस्किाले प्रथम स्थान हासिल गर्दा रीता कुमारी दोस्रो र नन्दिता थारु तेस्रो भए । खुला पुरुषतर्फ टेकेन्द्रसँगै निराजन चौधरीले दोस्रो र प्रशान्त तामाङले तेस्रो स्थान हासिल गरे ।

राप्तीसोनारी गाउँपालिका अन्तर्गतका स्कुल स्तरीय छात्रतर्फ भबिन्द्र बोहरा, समिर थारु र विशाल यादवले क्रमशः शीर्ष तीन स्थान हासिल गर्दा छात्रातर्फ ३ किलोमिटरमा रेणुका चौधरी, अनुजा थारु र निस्मा थारु क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । तीन सय बढी धावकको सहभागिता रहेको दौडमा सबै विधाका शीर्ष तीन जनालाई नगद तीन हजार, दुई हजार र एक हजार सहित पदकले पुरस्कृत गरियो । जर्मनीमा बसोबास गर्दै आउनुभएका मदुवा निवासी पूर्व राष्ट्रिय खेलाडी तीर्थ ओलीको पहलमा धारा नेपालगन्ज म्याराथनको भगिनी दौड कार्यक्रमका रुपमा राप्तीसोनारी नेचर रन हरेक वर्ष हुँदै आएको छ । यसका शीर्ष दश जनालाई मंसिर १२ गते हुने धारा नेपालगन्ज म्याराथनको १२औँ संस्करणमा स्वतः सहभागिता दिइने रेस डाइरेक्टर चन्द्र गुरुङले जानकारी दिनुभयो ।
एक किलोमिटर वाकाथनमा राप्तीसोनारीका अध्यक्ष तप्त पौडेल, उपाध्यक्ष मनिषा थारु, पूर्व प्रदेश सभा सदस्य कृष्णा केसी नमुना लगायत झण्डै सय जनाले भाग लिएका थिए । पालिका अध्यक्ष पौडेलले दौडको उद्घाटन गर्नुहुँदै तेस्रो संस्करणदेखि सिङ्गो पालिका र वडा नम्बर २ ले समेत अपनत्व लिएको जानकारी गराउँदै यसको निरन्तरताको आधार तयार भएको बताउनुभयो । लुम्बिनी प्रदेशसभा पूर्व सदस्य केसी, वडाध्यक्ष ज्ञानेन्द्र ओली, धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी लगायतले विजयी खेलाडीलाई पुरस्कृत गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्