प्रधानमन्त्री शाहको भ्रमणबाट नेपाल-भारत सम्बन्ध थप सुदृढ हुने रास्वपाको विश्वास
काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहको आजदेखि हुने भारतको राजकीय भ्रमणबाट नेपाल(भारतबीचको विद्यमान ऐतिहासिक, मैत्रीपूर्ण एवं बहुआयामिक सम्बन्ध थप सुदृढ हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विश्वास व्यक्त गरेको छ ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले आज शुभकामना वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको भ्रमणबाट दुई देशबीच आपसी विश्वास, सहकार्य र साझेदारी अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको बताउनुभएको छ । “राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रधानमन्त्रीको भारत भ्रमण सफल, उपलब्धिपूर्ण तथा सुखद रहोस् भन्ने हार्दिक शुभकामना”, महामन्त्री आचार्यद्वारा जारी शुभकामनामा उल्लेख छ ।
भ्रमणका सन्दर्भमा प्रधानमन्त्री शाहले पार्टी सभापति रवि लामिछानेसँग भेट गरी विस्तृत छलफल तथा जानकारी गराउनुभएको महामन्त्री आचार्यले जनाउनुभएको छ । उक्त अवसरमा सभापति लामिछानेले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राख्दै पारस्परिक सम्मान, समानता र साझा हितका आधारमा द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन यो भ्रमण कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता शाह राजकीय भ्रमणको सिलसिलामा आज भारततर्फ प्रस्थान गर्दै हुनुहुन्छ । उहाँको नेतृत्वमा रहने ३४ सदस्यीय प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार र राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारी तथा विभिन्न संस्थाका प्रतिनिधिको सहभागिता रहनेछ ।
दुईदिने यस भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च नेतृत्वसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ । भेटका अवसरमा द्विपक्षीय सम्बन्धलाई थप सुमधुर बनाउने विषयमा छलफल हुनुका साथै केही महत्त्वपूर्ण विषयमा समझदारी गर्ने तयारीसमेत रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्