तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल पर्यटन पत्रकार सङ्घको अध्यक्षमा बास्तोला

पोखरा । पोखरामा नेपाल पर्यटन पत्रकार संघ गठन भएको छ । हरिप्रसाद बास्तोलाको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन भएको सङ्घले जनाएको छ । 

शुक्रबार जिल्ला प्रशासन कार्यालय कास्कीबाट दर्ता प्रमाणपत्र प्राप्त गरेसँगै सङ्घले अब पर्यटन विट पत्रकारिता मार्फत यस क्षेत्रको पर्यटन प्रबद्र्धन गर्न पत्रकारहरू लाग्ने भएका हुन्  । सङ्घको उपाध्यक्षमा  गोविन्द सुवेदी र कृष्ण श्रेष्ठ रोजी रहनु भएको छ भने त्यस्तै महासचिवमा घनश्याम पाण्डे, सचिवमा एकराज गिरी र समावेशी सचिवमा विजय नेपाली चयन हुनु भएको हो । कोषाध्यक्षमा चन्द्रिका घिमिरे रहनु भएको छ । 

सङ्घको सदस्यमा पुष्पराज दाहाल, बालकुमारी पौडेल, बिना कुमारी थापा, सरिता गुरुङ, राम गुरुङ, राजु गिरी, रामशरण नेपाली र दिनानाथ बराल रहनु भएको छ । दर्ता प्रमाणपत्र हस्तान्तरण गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिङ गुरुङले पर्यटन क्षेत्रको विकासमा सञ्चारमाध्यम र पत्रकारिताको भूमिका महत्त्वपूर्ण रहेको बताउनु भयो । नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पत्रकारिताले योगदान पुर्‍याउन सक्ने उहाँको भनाइ थियो।  उनले हरेक गतिविधिमा सुरक्षालाई पहिलो प्राथमिकता दिनसमेत उहाँले आग्रह गर्नुभयो ।

संघका अध्यक्ष बास्तोलाले नेपाल पर्यटन पत्रकार सङ्घलाई पत्रकारको साझा संस्थाका रुपमा अघि बढाउने बताए । पर्यटन क्षेत्रको विकासका लागि प्रचारप्रसारसँगै खोजमूलक पत्रकारितालाई प्राथमिकता दिने उहाँको भनाइ छ । सम्भावना भएर पनि ओझेलमा परेका पर्यटकीय गन्तव्य, कला, संस्कृति, प्राकृतिक सम्पदा र स्थानीय पर्यटन व्यवसायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने काममा संघ केन्द्रित हुने उहाँको भनाई छ ।  पर्यटन पत्रकारहरूको क्षमता अभिवृद्धि, व्यावसायिक हकहितको संरक्षण र पर्यटन क्षेत्रका सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने बास्तोलाले बताउनु भयो ।

संघका महासचिव घनश्याम पाण्डेले संघ स्थापनाको उद्देश्य पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा पत्रकारिताको भूमिकालाई थप प्रभावकारी बनाउनु रहेको बताउनु भयो । उहाँले पर्यटकीय गन्तव्यको पहिचान, खोज तथा प्रचारप्रसार गर्दै पर्यटन क्षेत्रका सम्भावनालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने कामलाई सङ्घले प्राथमिकता दिने जनाउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button