तपाईँ सुन्दै हुनुहुन्छः

नरैनापुरमा स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासलाई प्राथमिकता

बाँके। ग्रामीण क्षेत्रका नागरिकलाई आधारभूत सेवा तथा सुविधा सहज रूपमा उपलब्ध गराउँदै गाउँमै बस्न सक्ने वातावरण निर्माण गर्ने उद्देश्यले बाँकेको नरैनापुर गाउँपालिकाले स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम अघि बढाएको छ ।

गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले ग्रामीण क्षेत्रको विकास र नागरिकको जीवनस्तर सुधारका लागि स्वास्थ्य, शिक्षा तथा पूर्वाधारको पहुँच विस्तार गर्न आवश्यक रहेको बताउनुभएको छ ।

स्वास्थ्य संस्थाहरूको निरीक्षणका क्रममा उहाँले गाउँबस्तीमै आधारभूत सेवा विस्तार गरी नागरिकलाई आफ्नै ठाउँमा बस्न सक्ने वातावरण निर्माण गर्नु स्थानीय सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभयो ।

“ग्रामीण क्षेत्रलाई स्वास्थ्य, शिक्षा र पूर्वाधारसँग जोड्नुपर्छ भन्ने मेरो मान्यता हो । गाउँमा मानिसहरू कसरी टिकाइराख्ने भन्ने विषयमा अहिले पालिकाले काम गरिरहेको छ,” अध्यक्ष शाहले भन्नुभयो ।

स्थानीय तह नागरिकसँग प्रत्यक्ष जोडिएर सेवा प्रवाह गर्ने सरकार भएकाले स्थानीय आवश्यकताका आधारमा अघि सारिएका विकास योजनामा प्रदेश र सङ्घीय सरकारले पनि सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । स्थानीय तहको विकाससम्बन्धी योजनालाई माथिल्ला सरकारले साथ दिन सके ग्रामीण क्षेत्रको विकासले गति लिने उहाँले बताउनुभयो ।

अध्यक्ष शाहले गाउँपालिकाका सबै वडाको समानुपातिक विकासमा जोड दिँदै सडक तथा अन्य पूर्वाधारको पहुँचबाट पछाडि परेका बस्तीलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिनुभयो ।

स्वास्थ्य क्षेत्रको सुधार र सेवा विस्तारलाई कार्यकालको सुरुदेखि नै प्राथमिकता दिएको उल्लेख गर्दै उहाँले गाउँपालिकामा निर्माण गरिएको अस्पताल आफ्नै कार्यकालमा सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अस्पताल सञ्चालनका लागि तयारी गरिए पनि सङ्घीय तथा प्रदेश सरकारबाट अपेक्षित सहयोग प्राप्त हुन नसक्दा चुनौती थपिएको उहाँको भनाइ छ । आवश्यक स्रोत र सहयोग व्यवस्थापनमा कठिनाइ भए पनि अस्पताल सञ्चालनमा ल्याउन आफू प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

यसैबीच, ग्रामीण तथा दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने उद्देश्यले नरैनापुर गाउँपालिका–१ स्थित स्वास्थ्य चौकीले घरदैलो स्वास्थ्य शिक्षा अभियान सञ्चालन गरिरहेको छ ।

स्वास्थ्यकर्मीहरू गाउँबस्तीमै पुगेर आधारभूत स्वास्थ्य सचेतना, सरसफाइ, मातृ तथा शिशु स्वास्थ्य, विभिन्न रोगको रोकथाम र समयमै उपचार गराउनुपर्ने विषयमा नागरिकलाई जानकारी गराउँदै आएका छन् ।

विशेषगरी स्वास्थ्य संस्थासम्म सहजै पुग्न नसक्ने विपन्न परिवार, ज्येष्ठ नागरिक तथा महिलाका लागि घरदैलो स्वास्थ्य शिक्षा अभियान उपयोगी बनेको छ ।

स्वास्थ्य चौकीका इन्चार्ज दिनेश मौर्यका अनुसार स्वास्थ्यकर्मी स्वयं बस्तीमा पुगेर परामर्श दिन थालेपछि स्थानीय नागरिकमा स्वास्थ्यप्रतिको चासो र सचेतना बढ्दै गएको छ ।

“ग्रामीण भेगका प्रत्येक नागरिकसम्म आधारभूत स्वास्थ्य शिक्षा र चेतना पुर्‍याउनु हाम्रो मुख्य उद्देश्य हो । स्वास्थ्यकर्मीहरू बस्ती–बस्तीमा पुगेर परामर्श दिन थालेपछि स्थानीय बासिन्दामा स्वास्थ्यप्रतिको चासो बढेको छ । नागरिकको मुस्कान र विश्वासले हामीलाई थप ऊर्जा मिलेको छ,” उहाँले भन्नुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले ग्रामीण क्षेत्रको समग्र विकास, स्वास्थ्य सेवाको पहुँच विस्तार, गुणस्तरीय शिक्षा तथा सडक र अन्य पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर स्थानीय आवश्यकतामा आधारित योजनाहरू कार्यान्वयन भइरहेको बताउनुभयो ।

उहाँका अनुसार गाउँबस्तीमै सेवा तथा सुविधा विस्तार गरी नागरिकलाई आफ्नै ठाउँमा सम्मानजनक जीवनयापन गर्न सक्ने वातावरण निर्माण गर्ने उद्देश्यले गाउँपालिकाले जनमुखी कार्यक्रम अघि बढाएको छ ।

नरैनापुरजस्तो ग्रामीण तथा सीमावर्ती क्षेत्रमा विकासको अनुभूति दिलाउन भौतिक पूर्वाधार निर्माणसँगै शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत सेवाको पहुँच विस्तार आवश्यक देखिन्छ । स्थानीय सरकारको पहल, स्वास्थ्यकर्मीको सक्रियता र तीनै तहका सरकारबीच प्रभावकारी समन्वय हुन सके ग्रामीण बस्तीको जीवनस्तर सुधार गर्नुका साथै गाउँबाट हुने बसाइँसराइ न्यूनीकरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button