तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिममा चौलोले प्रसिद्ध “बडाल जाँत” भोली

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा चौलो र भोक्करका लागि प्रसिद्ध डडेल्धुराको बडाल जाँत भोलि बिहीबार सम्पन्न हुँदैछ ।

गन्यापधुरा गाउँपालिका–२ मा लाग्ने बडाल जाँत आज रतेडी र भोलि दिउँसेडीका रूपमा मनाइने वडा अध्यक्ष मनोजबहादुर देउवाले जानकारी दिनुभयो ।

हरेक वर्ष कार्तिक शुक्ल दशमीका दिन रतेडी र त्यसको भोलिपल्ट दिउँसेडी मनाउने परम्परा रहेको छ ।

लाटा गन्याप देवताको भक्तिस्वरूप मनाइने यस जाँतमा चौलो र भोक्कर मुख्य आकर्षणका रूपमा रहने गरेका छन् । बाजागाजा, देवलका भाला, गुर्जा, खुकुरी र तरवार हातमा लिएर खेलिने चौलोले बडाल जाँतलाई विशेष पहिचान दिएको छ ।

जाँतमा माली गाउँबाट मूल देउरो आउने गर्दछ । यसका साथै देउवाहरूको अर्को देउरो तथा रमाइल, लाटा भूमिदेउली, बडाल र सुतारी गाउँबाट पनि देउरो आउने परम्परा छ । यी देउरोहरू दिउँसेडीको बिहान १ देखि २ बजेसम्म मन्दिरमा पुग्ने वडा अध्यक्ष देउवाले बताउनुभयो ।

सुदूरपश्चिममा बैतडीको देहिमाण्डौँ दाइन दमाहाका लागि प्रसिद्ध भएजस्तै डडेल्धुराको बडाल जाँत चौलो र भोक्करका लागि परिचित रहेको स्थानीय संस्कृतिका जानकारहरू बताउँछन् ।

वडा अध्यक्ष देउवाका अनुसार बडाल जाँत अवलोकन तथा दर्शनका लागि देशका विभिन्न स्थान, भारतका केही क्षेत्र र सुदूरपश्चिमका अधिकांश जिल्लाबाट दर्शनार्थी आउने गरेका छन् ।

जाँतका अवसरमा लाग्ने मेलामा स्थानीय कृषि उपजको राम्रो कारोबार हुने गरेको स्थानीयवासी बताउँछन् ।

यसैबीच, जाँतको अवसरमा गन्यापधुरा गाउँपालिकाले भोलि गाउँपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थामा सार्वजनिक बिदा दिएको छ । प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीद्वारा जारी सूचनामा उक्त जानकारी दिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button