फोहोरबाट मोहोर बनाउने अभियान सहित बुधबारदेखि ‘आरयू फेस्ट’ हुने
पोखरा । फोहोरबाट मोहोर बनाउने अभियान सहित पोखरामा बुधबारदेखि ‘आरयू फेस्ट’ हुने भएको छ ।

पोखरा महानगरपालिकाको आयोजनामा रिसाइकलिङ तथा अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना (जीसीआरयू) परियोजनाअन्तर्गत दोस्रो संस्करणको ‘आरयू फेस्ट २०२६ ः रि–थिंक २०२६’ यही मङ्सिर २ र ३ गते पोखरा–६, बुलौदीस्थित पोखरा इभेन्ट सेन्टरमा सञ्चालन हुने भएको मङ्गलवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
पोखरामा उत्पादन भएको फोहोरलाई कसरी वर्गीकरण गरी आय आर्जन समेत गरी व्यवस्थापन गर्न सकिन्छ भन्ने उद्देश्यले उक्त फेष्ट आयोजना गर्न लागिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो ।
कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) नेपालको सहयोगमा आयोजना हुन लागेको दुई दिने महोत्सवले फोहोरलाई समस्याका रूपमा मात्र नभई पुनः प्रयोग र प्रशोधनमार्फत आम्दानी, रोजगारी तथा आर्थिक अवसर सिर्जना गर्न सकिने स्रोतका रूपमा बुझाउने लक्ष्य राखेको छ ।
मेयर आचार्यले पोखरामा रिसाइकलिङ तथा अपसाइक्लिङका लागि छुट्टै भवन निर्माणको कामसमेत अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
त्यस्तै, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले आरयू फेस्टले पोखरामा फोहोरको वर्गीकरण, पुनः प्रयोग र व्यवस्थापनसम्बन्धी चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
महोत्सवमा रिसाइकलिङ तथा अपसाइक्लिङबाट तयार गरिएका सामग्रीको प्रदर्शनी तथा बिक्री मुख्य आकर्षण रहनेछ । जीसीआरयू परियोजनाको सहयोगमा प्रवर्द्धित स्थानीय उद्यमीका उत्पादनसँगै छनोट भएका पाँच विद्यालयका आरयू क्लबका विद्यार्थीले तयार गरेका सामग्री समेत प्रदर्शन तथा बिक्री गरिनेछ ।
त्यस्तै, चार सयभन्दा बढी धावक सहभागी हुने अपेक्षा गरिएको ‘आर यू ट्रेजर हन्ट रन’ पनि आयोजना हुनेछ । विद्यालयका विद्यार्थी, युवा नव प्रवर्तक, डिजाइनर तथा विश्वविद्यालयका विद्यार्थीलाई लक्षित गरी चक्रीय नवप्रवर्तन चुनौती सञ्चालन गरिनेछ । सहभागीले फोहोरको पुनः प्रयोग र चक्रीय अर्थतन्त्रमा आधारित नयाँ सोच तथा सिर्जनात्मक समाधान प्रस्तुत गर्न सक्नेछन् ।
प्रयोग भइसकेका कपडा तथा अन्य सामग्रीबाट तयार गरिएका पोसाक र कलाकृतिको अपसाइकल फेसन तथा कला प्रदर्शनी पनि महोत्सवको अर्को आकर्षण हुनेछ । यसका साथै अन्तरक्रियात्मक खेल, प्रयोगात्मक कार्यशाला, नाट्य प्रस्तुति, फोहोरबाट खेलौना निर्माण तथा बालबालिकालाई लक्षित आरयू कथा पुस्तक विमोचन लगायतका कार्यक्रम सञ्चालन हुनेछन् । यसअघि सन् २०२५ अगस्ट १ र २ मा आयोजना भएको पहिलो संस्करणमा २७ वटा प्रदर्शक सहभागी भएका थिए ।
मङ्सिर २ र ३ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने महोत्सवमा प्रवेश निःशुल्क रहनेछ ।








प्रतिक्रिया राख्नुहोस्