नेपालगञ्ज–दिल्ली उडान र सुख्खा बन्दरगाहका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र
नेपालगञ्ज । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा नेपालगञ्ज–दिल्ली सिधा हवाई उडान सञ्चालन र नेपालगञ्जमा सुख्खा बन्दरगाह निर्माणको विषयलाई प्राथमिकताका साथ एजेन्डामा समावेश गर्न माग गरिएको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको अगुवाइमा मङ्गलवार बिहान प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई ज्ञापनपत्र बुझाइएको हो ।
यसअघि नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको अगुवाइमा सोमबार नेपालगञ्जमा आयोजित सर्वदलीय तथा सर्वपक्षीय बैठकले जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा यी दुई विषयलाई प्राथमिकताका साथ उठाउन आग्रह गर्दै ज्ञापनपत्र बुझाइएको संघका अध्यक्ष चिरञ्जीवी ओलीले जानकारी दिनुभयो ।
ज्ञापन पत्रमार्फत पश्चिम नेपालको आर्थिक, पर्यटन तथा व्यापारिक विकाससँग प्रत्यक्ष जोडिएका नेपालगञ्ज–दिल्ली सिधा हवाई उडान र सुख्खा बन्दरगाह निर्माणलाई प्रधानमन्त्रीको भारत भ्रमणको कार्यसूचीमा समेट्न सरकारसँग आग्रह गरिएको छ ।
नेपालगञ्जबाट भारतको राजधानी नयाँ दिल्लीसम्म सिधा हवाई उडान सञ्चालनका लागि आवश्यक कूटनीतिक पहल गर्नुपर्नेमा ज्ञापनपत्रमा जोड दिइएको छ । त्यसैगरी, नेपालगन्जलाई पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्रका रूपमा विकास गर्न सुख्खा बन्दरगाह निर्माणको विषयलाई पनि भारतसँगको उच्चस्तरीय छलफलमा प्राथमिकताका साथ उठाउन माग गरिएको छ ।
नेपालगञ्ज–दिल्ली सिधा हवाई उडान सञ्चालनको माग यसअघि पनि विभिन्न समयमा उठ्दै आएको छ । निजी क्षेत्र, उद्योगी व्यवसायी, राजनीतिक दल तथा अन्य सरोकारवालाले पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदै आए पनि उक्त मागले अझै मूर्तरूप पाउन सकेको छैन ।
प्रधानमन्त्री शाहले मङ्सिर ६ गतेदेखि दुई दिने भारत भ्रमण गर्ने कार्यक्रम रहेको छ । यस भ्रमणबाट नेपालगञ्जवासीले लामो समयदेखि उठाउँदै आएका हवाई उडान र सुख्खा बन्दरगाह निर्माणका माग सम्बोधन हुने अपेक्षा गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्