तपाईँ सुन्दै हुनुहुन्छः

जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता

बर्दिया।बर्दियाको गुलरिया नगरपालिका–४ बगही र बारबर्दिया नगरपालिका–११ जब्दी जोड्ने बबई नदीको जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ ।

वर्षौंदेखि पुल नहुँदा नदी वारपार गर्न सास्ती भोग्दै आएका स्थानीयवासी सम्झौतापछि आवागमन सहज हुने आशामा छन् । सडक डिभिजन कार्यालय नेपालगञ्ज र भरतपुर–३, चितवनस्थित एमआर एन्ड ग्रुपबीच गत कात्तिक १६ गते पुल निर्माणसम्बन्धी सम्झौता भएको कार्यालयका प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर नरेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । सम्झौताअनुसार निर्माण कम्पनीले ४२ महिनाभित्र पुल निर्माण सम्पन्न गर्नुपर्नेछ ।

रु ६७ करोड ४५ लाख ६९ हजार १५० लागतमा निर्माण हुने दुई लेनको पुल ४२० मिटर लामो र ११ मिटर चौडा हुनेछ । निर्माण व्यवसायीले सम्झौताको नौ महिनाभित्र माटो परीक्षण प्रतिवेदन र पुलको डिजाइन स्वीकृत गराउनुपर्नेछ ।

सडक डिभिजन कार्यालय नेपालगञ्जले विसं २०८३ असारमा पुल निर्माणका लागि ठेक्का आह्वान गरेको थियो । ठेक्का प्रक्रियामा चार निर्माण व्यवसायीले प्रतिस्पर्धा गरेकामा प्राविधिक तथा आर्थिक प्रस्तावको मूल्याङ्कनपछि एमआर एन्ड ग्रुप छनोट भएको कार्यालयले जनाएको छ ।

बर्दिया क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य ठाकुरसिंह थारुले पुल निर्माणको काम यथाशीघ्र सुरु गरी निर्धारित समयभित्र सम्पन्न गर्नुपर्ने बताउनुभयो । उक्त पुल बारबर्दिया नगरपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गको रम्मापुर चोकदेखि जयनगर बजार हुँदै जिल्ला सदरमुकाम गुलरिया र वडा नं १० स्थित नेपाल–भारत सीमानाका रजनवास जोड्ने प्रमुख सडक मार्गमा पर्छ ।

पूर्व–पश्चिम राजमार्गबाट जयनगर बजार हुँदै गुलरिया तथा भारत आवतजावत गर्ने स्थानीयवासी र यात्रुले लामो समयदेखि सास्ती भोग्दै आएको उहाँले बताउनुभयो ।

पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको जब्दीघाटको पुरानो पुल हस्तान्तरण नहुँदै विसं २०७२ को बाढीले भासिएको थियो । पुल भासिएपछि ठूला सवारीसाधनको आवागमन बन्द भए पनि पैदलयात्री, मोटरसाइकल र अटोरिक्साजस्ता साना सवारीसाधन सञ्चालन हुँदै आएका थिए । विसं २०७९ को बाढीले पुलका चारवटा मुख्य पिलर जोड्ने तीनवटा स्ल्याब बगाएपछि भने आवागमन पूर्ण रूपमा बन्द भएको इन्जिनियर भट्टले बताउनुभयो ।

बारबर्दिया नगरपालिका–११ फच्कहवाकी मेनका चौधरीका अनुसार पुलका स्ल्याब बगाएपछि स्थानीयवासीले शुल्क तिरेर डुङ्गा वा काठे पुलबाट नदी वारपार गर्नुपर्ने बाध्यता छ । नयाँ पुल निर्माणको ठेक्का सम्झौता भएपछि वर्षौंदेखिको सास्ती अन्त्य हुने आशा पलाएको उहाँले बताउनुभयो ।

बर्खायाममा बबई नदीमा बाढी आउँदा नदी वारपार गर्न झनै कठिन हुने गरेको छ । पुल नहुँदा गुलरिया नगरपालिका–४ का स्थानीयवासी सदरमुकाम पुग्न करिब १० किलोमिटर घुमेर जानुपर्ने वा जोखिम मोलेर डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यतामा छन् । शुल्क तिरेर नदी वारपार गर्नुपर्दा थप आर्थिक भारसमेत पर्ने गरेको स्थानीय राममिलन चौधरीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button