राराको प्रवेशद्वार सल्लेरीमा पर्यटकीय चहलपहल बढ्दै, होटल व्यवसाय विस्तार

मुगु। रारा तालको दक्षिणी प्रवेशद्वारका रूपमा परिचित सल्लेरी क्षेत्रमा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको छ। कुनै समय झाडी र जङ्गलले ढाकिएको सुनसान क्षेत्रका रूपमा रहेको सल्लेरी अहिले पर्यटकीय गतिविधि बढेसँगै होटल तथा अन्य पर्यटकीय पूर्वाधार विस्तार हुने क्रममा छ।
रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढेपछि सल्लेरी क्षेत्रमा होटल व्यवसायप्रति स्थानीयको आकर्षणसमेत बढेको छ। केही वर्षअघिसम्म झाडी र जङ्गलले भरिएको यस क्षेत्रमा अहिले पर्यटकलाई लक्षित गरी होटल, रेस्टुरेन्ट तथा आवास सुविधा थपिँदै गएका छन्। पर्यटकको आगमनसँगै पहिले सुनसान देखिने सल्लेरीमा अहिले चहलपहल बढेको छ।
रारा तालको सुन्दरता अवलोकन गर्न आउने पर्यटकका लागि सल्लेरी महत्त्वपूर्ण प्रवेशमार्ग हो। यही मार्ग हुँदै रारा पुग्ने पर्यटकको सङ्ख्या बढेपछि यहाँ व्यवसाय गर्ने सम्भावना पनि बढेको स्थानीय पर्यटन व्यवसायीहरू बताउँछन्। पर्यटकीय गतिविधिले होटल व्यवसायका साथै स्थानीय उत्पादन, खाद्यवस्तु तथा अन्य साना व्यवसायलाई समेत अवसर सिर्जना गर्न थालेको छ।

पर्यटन व्यवसायी शैलेन्द्र बमका अनुसार केही वर्षअघिसम्म सल्लेरी क्षेत्रमा पर्यटकको आवागमन निकै न्यून थियो। अहिले रारा घुम्न आउने पर्यटकको सङ्ख्या बढेसँगै यस क्षेत्रको स्वरूप नै परिवर्तन हुन थालेको छ। पर्यटकको आगमनले होटल व्यवसाय विस्तार गर्न उत्साह थपेको बताउँदै उहाँले सल्लेरीलाई व्यवस्थित पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न आफूले होटलमा लगानी गरेको जानकारी दिनुभयो।
त्यस्तै, अर्का पर्यटन व्यवसायी चन्दसिंह रावतले रारा आउने पर्यटकका लागि सल्लेरी महत्त्वपूर्ण गन्तव्य बन्दै गएको बताउनुभयो। पर्यटकीय चहलपहल बढे पनि त्यसअनुसार सडक, खानेपानी, सरसफाइ, सञ्चारलगायत आधारभूत सुविधा विस्तार हुनुपर्ने उहाँको भनाइ छ।
पर्यटकलाई सहज बसाइ र गुणस्तरीय सेवा उपलब्ध गराउन आफूले सुविधासम्पन्न होटलमा लगानी गरेको रावतले बताउनुभयो। सडक यातायात विस्तार हुन सके पर्यटकको आवागमन बढ्ने, सेवा सुविधा विस्तार हुने र स्थानीयले रोजगारी तथा आम्दानीका अवसर पाउने उहाँको विश्वास छ।
सल्लेरीमा होटल व्यवसाय विस्तार हुँदै जानु स्थानीय अर्थतन्त्रका लागि पनि सकारात्मक सङ्केतका रूपमा हेरिएको छ। होटल सञ्चालनसँगै स्थानीय युवाले रोजगारी पाउने, गाउँमै उत्पादित खाद्यवस्तु तथा कृषि उपजको खपत बढ्ने र स्थानीय उत्पादनले बजार पाउने सम्भावना बढेको छ।
यद्यपि, पर्यटकीय चहलपहलसँगै यस क्षेत्रको प्राकृतिक सुन्दरता र वातावरण संरक्षणलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने देखिन्छ। अव्यवस्थित होटल निर्माण, फोहोरमैला व्यवस्थापनमा बेवास्ता तथा आधारभूत पूर्वाधारको अभावले भविष्यमा पर्यटन विकासमै असर पार्न सक्ने चुनौती छन्।
रारा तालको दक्षिणी प्रवेशद्वार सल्लेरीलाई व्यवस्थित, सफा र आकर्षक पर्यटकीय बस्तीका रूपमा विकास गर्न सके राराको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने देखिन्छ। कुनै समय झाडी र जङ्गलले ढाकिएको सल्लेरी अहिले पर्यटकीय गतिविधिसँगै नयाँ पहिचान बनाउने दिशामा अघि बढिरहेको छ।








प्रतिक्रिया राख्नुहोस्