हेमजा साहित्य महोत्सवमा ५ हजार सहभागी गराउने लक्ष्य
पोखरा । पोखरा–२५ हेमजामा दोस्रो संस्करणको हेमजा साहित्य महोत्सव हुने भएको छ । साहित्य, कला, संस्कृति र सिर्जनालाई एउटै थलोमा जोड्ने उद्देश्यसहित मङ्सिर ५ र ६ गते उक्त महोत्सव हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

दुई दिन चल्ने महोत्सवमा करिब ५ हजार दर्शक सहभागी गराउने लक्ष्य राखिएको हेमजा साहित्य प्रतिष्ठान, नेपालका अध्यक्ष तथा महोत्सव अध्यक्ष सुनिल गायकले बताउनुभयो । महोत्सवले हेमजाको साहित्यिक, सांस्कृतिक तथा पर्यटकीय पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको उहाँले जनाउनुभयो । अध्यक्ष गायकले साहित्य समाजको चेतना, संवेदना र सभ्यताको ऐना भएकाले साहित्यिक गतिविधिलाई जनस्तरसम्म पुर्याउन सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।
महोत्सवका निर्देशक छन्दमणि त्रिपाठीले जनमानसमा साहित्यप्रतिको रुचि बढाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै दोस्रो संस्करणलाई थप प्रभावकारी बनाउने तयारी गरिएको जनाउनुभयो । महोत्सव अन्तर्गत कविता, मुक्तक, गजल तथा लघुकथा वाचनका साथै साहित्यिक विमर्श, लोकसंस्कृति र सङ्गीतका कार्यक्रम समावेश गरिएका छन् ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, कास्की शाखाका अध्यक्ष माधव बराल लगायतको सहभागिता रहेको थियो । आयोजकले महोत्सवलाई सफल बनाउन सञ्चारमाध्यमबाट प्रचारप्रसार, रचनात्मक सुझाव तथा सकारात्मक समाचार सम्प्रेषणको अपेक्षा गरेको छ ।
हेमजाको माटोमा सिर्जनाका फूल फुलाउने, साहित्यका स्वर गुन्जाउने र काव्य नगरीको पहिचान देश विदेशसम्म फैलाउने उद्देश्यका साथ सबैलाई महोत्सवमा सहभागी हुनसमेत आह्वान गरिएको प्रतिष्ठानका महासचिव कोविद शरण उपाध्यायले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्