खराब कर्जा असुलीमा अर्थमन्त्री डा वाग्लेको जोड

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको पहिलो बैङ्क नेपाल बैङ्क लिमिटेडलाई वित्तीय तथा आर्थिक अनुशासन कायम गर्दै खराब कर्जा असुलीमा विशेष ध्यान दिन निर्देशन दिनुभएको छ ।
नेपाल बैङ्क लिमिटेडको ९०औँ वार्षिकोत्सव समारोहको आज यहाँ उद्घाटन गर्दै उहाँले बैङ्कलाई अनुत्पादक क्षेत्रमा लगानी नगर्न पनि आग्रह गर्नुभयो ।
नेपालको बैङ्किङ क्षेत्रमा गौरवमय इतिहास बोकेको यस बैंकले सुशासनको उच्च मापदण्ड कायम गर्दै डिजिटल रूपान्तरणमार्फत सरल र सहज बैङ्किङ सेवा उपलब्ध गराउनुपर्नेमा अर्थमन्त्री वाग्लेले जोड दिनुभयो । उहाँले नेपाल सरकारले वित्तीय क्षेत्र सुधारका लागि अघि सारेका तीन बुँदे कार्यसूची पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
बैङ्कको काम कारबाही पारदर्शी बनाई जनविश्वास कायम राख्न, संस्थागत कमजोरी सुधार गर्न तथा तथ्याङ्कको सुरक्षामा विशेष ध्यान दिनुपर्ने अर्थमन्त्री वाग्लेले बताउनुभयो । आगामी दिनमा डिजिटल बैङ्किङको विस्तार, लघु, साना तथा मझौला उद्यमलाई सहज वित्तीय पहुँच, हरित अर्थतन्त्रको प्रवर्द्धन तथा वित्तीय साक्षरता अभिवृद्धिमा बैंकले प्रभावकारी र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले नेपालमा बैङ्किङ इतिहासको सुरुआत गर्दै स्थापना भएको यस बैंकले बचत संस्कृतिको विकास, आर्थिक स्रोत परिचालन र पुँजी निर्माणका साथै मुलुकको औद्योगिक तथा व्यापार व्यवसायको विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्याएको बताउनुभयो ।
उहाँका अनुसार बैङ्कको चुक्ता पुँजी रु १४ अर्ब ६९ करोड, निक्षेप रु चार खर्ब १६ अर्ब र कर्जा रु दुई खर्ब ६२ अर्ब रहेको छ । बैङ्कको निष्क्रिय कर्जा अनुपात चार दशमलव १८ प्रतिशत, ग्राहक सङ्ख्या २९ लाख २४ हजार र कर्मचारी सङ्ख्या तीन हजार ६०० रहेको छ ।
त्यसैगरी, बैंकका २५० वटा एटिएम सञ्चालनमा छन् भने मोबाइल बैङ्किङका ग्राहक सङ्ख्या १० लाख पुगेको छ । बैंकले ७१ जिल्लामा शाखा विस्तार गरेको प्रमुख कार्यकारी अधिकृत पाण्डेयले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्