मिथिलामा ‘अन्नकूट’ महोत्सव: ५६ व्यञ्जनको भोग
महोत्तरी । मिथिला क्षेत्रमा आज ‘अन्नकूट’ महोत्सव आयोजना गरिँदै छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावली पर्वको चौथो दिन अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन यो महोत्सव मनाइन परम्परा छ । खासगरी वैष्णव मठहरूमा आयोजना गरिने यो महोत्सवमा विभिन्न मिष्टान्न र विशेष पकवानसहित ५६ व्यञ्जन भगवान् कृष्णलाई समर्पित गरी प्रसादस्वरुप खाने/ख्वाइने परम्परा छ । यो महोत्सव द्वापर युगमा हालको भारतको मथुरा नजिकको गोवर्द्धन पर्वतको पूजा परम्परासँगै जोडिएर आएको विश्वास गरिँदै आएको छ ।
त्यसताका सन्तुलित वर्षा र गाईसहितका पशुधनको संरक्षणको कामनासाथ इन्द्रको पूजाआराधना गरिने परम्पराको पौराणिक ग्रन्थहरूमा वर्णन छ । त्यतिखेर इन्द्रको पूजा गरिदा ५६ व्यञ्जन भोग लगाउने चलन रहेको कथा छ । एक वर्ष प्रतिकूल मौसमले गोकुलमा हाहाकार मच्चिदा श्रीकृष्णले इन्द्रको सट्टा आफ्ना गाईका लागि पोसिलो घाँस दिने गोवर्द्धन पर्वतको पूजा गर्न सबैलाई मनाएका श्रीमद्भागवतमा वर्णित छ । सो घटनाबाट अपमानवोध गरेका इन्द्रले घनघोर वर्षा गराउँदा श्रीकृष्णले गोवर्द्धन पर्वतलाई उठाएर गोकुलबासी र पशुधनको रक्षा गरेपछि इन्द्रले माफी मागेका थिए । त्यता इन्द्रलाई चढाइने ५६ व्यञ्जन श्रीकृष्णले आफैँलाई भोग लगाउने बसालेका परम्परा अहिलेको अन्नकूट भएको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) का प्राचार्य हेमनारायण लाल कर्ण बताउनुहुन्छ ।
“गोकुलबाट विकसित यो परम्परा पछि भारत वर्षमै फैलिएर पर्व संस्कृतिसँग जोडिएको मानिन्छ” प्राचार्य कर्ण भन्नुहुन्छ, “अहिले अन्नकूट महोत्सव वैष्णव मठहरूमा बाक्लो प्रचलनमा छ ।” यद्यपि गृहस्थ आश्रममा पनि अन्नकूट आयोजना गरी साधु भण्डारा ९भोजन० को परम्परा रहेको कर्णले स्पष्ट पार्नुभयो । महोत्तरीमा मटिहानीस्थित लक्ष्मीनारायण मठ, कृष्ण मन्दिर र रामजानकी मन्दिरमा पनि अन्नकूट महोत्सव आयोजना हुँदै आएका छन् ।
महोत्तरीका कैयन बस्तीमा किसानले अन्नकूट महोत्सवको आयोजना गर्दै आएका छन् । रामगोपालपुर–७ सहसौलाका राजाराम यादवले आफ्ना बाबुबाजेले गर्दै आउनुभएका यो महोत्सव आफूले बर्सेनि दीपावली पर्वका अवसरमा आयोजना गर्दै आएको बताउनुभयो ।
यस महोत्सवमा गाईको गोबरले गोवर्द्धन आकृति बनाएर त्यो नजिक श्रीकृष्णका प्रतिमा राखेर पूजाआराधना गरिँदै पवित्र ५६ व्यञ्जन भोग लगाइन्छ । त्यसरी भोग लगाइएका व्यञ्जन साधुसन्त र इष्टजनसहितको सहभोज परम्परा छ । उक्त महोत्सवको आयोजनाले दारिद्र नलाग्ने, सुख सन्तोष प्राप्त हुने र आरोग्य रही दीर्घ जीवन प्राप्त हुने मैथिल जनविश्वास छ । पर्वमा गाई, गोरु र बाच्छाबाच्छीलाई नुहाइध्वाइ गराएर पूजा गरिँदै प्रदक्षिणा गरिने चलन छ ।
उक्त परम्पराले आपसी मित्रता, प्रकृतिप्रति सम्मान र पशुधनको सम्भार तथा संरक्षणको सन्देश दिने पाका मैथिल बताउँछन् । रासस









प्रतिक्रिया राख्नुहोस्