यस बर्ष पनि पोखरामा भाइटिका महोत्सव हुने, करिब १०० जना विदेशी सहभागी हुँदै

पोखरा । नेपाली संस्कृतिका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भोलि (भाइटिका) को अवसरमा पर्यटनको राजधानी पोखरामा १९ औँ संस्करणको भाइटिका महोत्सव २०८३ हुने भएको छ । होटल संघ पोखरा नेपालले तिहारका अवसरमा बुधबार लेकसाइड स्थित होटल पौवामा आयोजना गर्ने उक्त महोत्सवमा करिब एक सय विदेशी पर्यटक सहभागी हुने सङ्घले जनाएको छ ।
भाइटिकाको अघिल्लो दिनसम्म ५० जना विदेशी पर्यटकहरूको अग्रिम नाम दर्ता गराए पनि भाइटिका महोत्सवका अवसरमा बुधबार समेत केही पर्यटकहरू सहभागी हुने हुँदा एक सय पर्यटकहरू उक्त महोत्सवमा प्रत्यक्ष रुपमा सहभागी हुने भएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनु भयो । तिहारको सांस्कृतिक पक्षलाई संरक्षण गर्दै यसैका माध्यबाट पर्यटक आकर्षित गर्ने अभिप्राय पनि महोत्सवलाई लिएको उहाँले बताउनु भयो । अपराह्न तीन बजे सुरु हुने महोत्सवमा नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन महोत्सवले मद्दत गर्ने सङ्घले जनाएको छ ।
महोत्सवप्रति विदेशी पर्यटकको आकर्षण र सहभागिता बढ्दै गएको र कतिपय पर्यटक दोहोर्याएर समेत टिका लगाउन आउने गर्नु भएको छ । महोत्सवमा तिहार पर्वको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वबारे पर्यटकलाई जानकारी गराइने छ । सो अवसरमा सेलरोटी लगायतका परम्परागत परिकार खुवाउने तथा देउसी–भैलोको प्रस्तुती गरिने भएको छ ।









प्रतिक्रिया राख्नुहोस्