तपाईँ सुन्दै हुनुहुन्छः

आन्तरिक पर्यटकको रोजाइका रुपमा विकास गरिँदै आकासे ताल

जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिका–१ मा रहेको आकासे ताल पछिल्लो समय आन्तरिक पर्यटनको दृश्यावलोकनका लागि रोजाइ परेको छ । तालको प्राकृतिक सौन्दर्यले विशेषगरी आन्तरिक पर्यटक आकर्षित बनेको वडाध्यक्ष अर्जुनकुमार महताराले बताउनुभयो ।

समुद्री सतहदेखि चार हजार ८६० मिटर उचाइमा रहेको उक्त ताल चार हजार २८० मिटरमा फैलिएको छ । उक्त ताललाई दूधकुण्ड प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाको रूपमा पनि लिने गरिएको छ । ताल नजिकबाट देखिने सुन्दर हिमतालले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गरिरहेको वडाध्यक्ष महताराको भनाइ छ ।

विशेषगरी दसैँ–तिहारको बिदामा घर आएका आन्तरिक पर्यटक हिमाली मनोरञ्जन र दृश्यावलोकनका लागि त्यहाँ पुग्ने गरेको पाइएको छ । त्यस क्षेत्रमा यात्रुको सहजताका लागि पर्यटकीय पूर्वाधार विकास गर्नसके पर्यटन प्रवर्द्धन र स्थानीयको आयस्तर बढ्न सक्ने अपेक्षा गरिएको वडाध्यक्ष महताराले बताउनुभयो ।

उक्त ताल हिमालको  काखमा रहेकाले त्यसमा रमाउन चाहने आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको त्यहाँ पुगेका तिला गाउँपालिका–१ दलबहादुर परियारले बताउनुभयो ।

पछिल्लो ताल नजिकसम्म पुग्नका लागि गुठिचौर–१ मौरेसम्म सडक निर्माण गरिएको छ । सडक पुगेको  स्थानबाट तालसम्म पुग्न करिब तीन किलोमिटर लामो पदयात्रा गर्नुपर्ने भएकाले त्यस क्षेत्रमा सहजताका लागि व्यवस्थित पदमार्ग निर्माण गर्न बजेटको आवश्यकता परेको वडा कार्यालयले जनाएको छ ।

पछिल्लो समय तालको अवलोकन, घुमघाम, श्रव्यदृश्य अवलोकन तथा वृत्तचित्र निर्माण गर्नेलगायत प्रयोजनका लागि दैनिक चारदेखि पाँच समूहमा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेको स्थानीयवासी दीपक बोहोराले बताउनुहुन्छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button