पोखरामा सयपत्रीको मूल्य निर्धारण, १७ ठाउँमा बिक्री केन्द्र तोकियो

पोखरा । तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले स्थानीय स्तरमा उत्पादित सयपत्री फूलको बिक्री वितरण व्यवस्थित गर्न मूल्य निर्धारणसहित १७ वटा बिक्री केन्द्र तोकेको छ ।
महानगरपालिकाले यही कात्तिक २२ गतेदेखि लागू हुने गरी सयपत्री फूल प्रतिकेजी ५०० रुपैयाँ र फूलमाला प्रतिमाला २०० रुपैयाँमा बिक्री गर्ने व्यवस्था मिलाएको जनाएको छ ।
स्थानीय किसानले उत्पादन गरेका फूललाई सहज रूपमा बजारसम्म पुर्याउने, उपभोक्तालाई सुपथ र व्यवस्थित रूपमा फूल उपलब्ध गराउने तथा स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले बिक्री केन्द्र तोकिएको महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताउनुभयो ।
स्थानीय फूल प्रयोग गरी वातावरण संरक्षण र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न सम्पूर्ण नगरवासीलाई उहाँले आग्रह गर्नुभयो । तिहारमा फूलमालाको माग उच्च हुने भएकाले स्थानीय कृषकको उत्पादनले बजार पाओस् र उपभोक्ताले सहज रूपमा फूल खरिद गर्न सकुन् भन्ने उद्देश्यले बिक्री केन्द्रको व्यवस्था गरेको महानगरले जनाएको छ ।
पोखरा १ स्थित देवी पन्चाङ ज्येष्ठ नागरिक मिलन केन्द्र, टुँडिखेलस्थित पुरानो वडा कार्यालय, पोखरा २ को संगमचोक कृषि बजार चौतारी, पोखरा ५ को नयाँ वडा कार्यालय परिसर र पोखरा ६ को सुलभ उपभोक्ता सहकारी संस्था लिमिटेडमा फूल बिक्री गरिने महानगरले जनाएको छ । त्यसै गरी पोखरा ९ महेन्द्रपुल (फल्चा), पोखरा कोसेली घर पृथ्वीचोक, सिद्धार्थचोक (चौतारी), पोखरा रंगशाला, किसान बजार १३, वडा कार्यालय परिसर १४, किसान बजार १५, ठूलीपोखरी किसान बजार १६ र १९, किसान बजार विरौटा १७, किसान बजार खुदी ३०, कोट देउराली बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेड (बेगनास ताल) ३१ तथा कृषि उपज थोक बजार तालचोक २७ मा समेत फूलको खरिदबिक्री गर्न सकिने व्यवस्था मिलाइएको आर्थिक विकास महाशाखा प्रमुख कडरियाले बताउनुभयो ।
यसैबिच स्थानीय फूलको बजार विस्तारसँगै पोखरा महानगरपालिकाले तिहारमा प्लास्टिकजन्य फूलमाला तथा फूलगुच्छाको बिक्री, वितरण, भण्डारण र प्रयोग नगर्न व्यवसायी तथा उपभोक्तालाई आग्रह गरेको छ । नेपाल सरकारको वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा ६ अनुसार प्लास्टिकजन्य फूलगुच्छाको बिक्री, वितरण तथा भण्डारण निषेध गरिएको व्यवस्था स्मरण गराउँदै महानगरले यसको प्रभावकारी कार्यान्वयनमा सहयोग गर्न अनुरोध गरेको हो । स्थानीय स्तरमै उत्पादन भएका सयपत्री फूल प्रयोग गर्दा वातावरण संरक्षणसँगै स्थानीय किसानको आम्दानी बढाउन र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सहयोग पुग्ने महानगरको अपेक्षा छ । महानगरले यस वर्षको तिहारमा ‘स्थानीय फूल प्रयोग गरौँ, पर्यावरण बचाऔँ, स्थानीय उत्पादन प्रोत्साहन गरौँ’ भन्ने सन्देशसमेत प्रवाह गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्